
पुनर्वासमा उपप्रमुखको नेतृत्वमा बजार अनुगमन
पुनर्वास -कञ्चनपुरको पुनर्वासमा नगर उपप्रमुख भुलिया कुमारी राना नेतृत्वको अनुगमन समितिले पुनर्वास-११ डोकेबजार र पुनर्वास-३ आइबीआरडी बजारमा अनुगमन गरेको छ ।

नेपालीहरूको महानचाड दशैं नजिकिँदै गर्दा अनुगमनको कार्यलाई बढावा दिएको पुनर्वास नगरपालिकाले जनाएको छ । नागरिकको स्वास्थ्यप्रति हुनसक्ने खेलवाड, अखाद्य वस्तु म्याद समाप्त भएका मालसामान बिक्री वितरण हुन सक्ने भएकाले पनि अनुगमन गरिएको पुनर्वास नगरपालिकाको नगरप्रमुख भुलिया कुमारी रानाले बताउनुभयो।

उहाँले अनुगमनका क्रममा पालिकामा पसल दर्ता भए नभएको चेकजाँच गर्नुका साथै सामानहरु, खाद्य वस्तुहरूको गुणस्तरीयतामा समेत ध्यान दिएर चेकजाँच गरिएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु, म्याद समाप्त भएका मालसमानहरू बरामद गरी पालिकामा लगेर आजै नै नष्ट गरिएको समेत जानकारी दिनुभयो । अनुगमनको क्रममा भेटिएका उक्त अखाद्य वस्तु म्याद समाप्त भएका मालसामानहरू ११ हजार मूल्य बराबरको रहेको उहाँले बताउनुभयो ।

अनुगमनको क्रममा बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालले पुनर्वास-११ मा रहेका पसलहरू ऐलानी जग्गामा बनेको र त्यसकारण पनि दर्ता गर्न समस्या रहेको अवस्था भेटिएको बताउनुभयो । तर उहाँले ऐ ऐलानी जग्गा भएपनि पालिकामा आफ्नो व्यवसाय दर्ता गर्न सक्ने प्रावधान रहेको जानकारी दिनुभयो । चाडपर्व नजिकिँदै गर्दा नागरिकको स्वास्थ्यमा ख्याल गर्दै अनुगमन गरिएको उहाँ बताउनुहुन्छ । अबका दिनमा प्रायजसो साप्ताहिक रुपमा नै अनुगमन गरिने उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, विभिन्न शाखाका प्रतिनिधिहरु, पालिकाको अनुगमन समितिका सदस्यहरू, वडाध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो।















