Above Article Ad
  • सुदूरपश्चिमको स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका अस्थायी साधनको अभाव

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका अस्थायी साधनहरूको अभाव भएको छ।

    स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका कतिपय अस्थायी साधनको मौज्दात सकिएपछि सेवाग्राहीले चाहेअनुसारका अस्थायी साधन प्रयोग गर्न पाएका छैनन्। अस्थायी साधनको सहज उपलब्धता नहुँदा अनिच्छित गर्भधारण बढ्न सक्ने सम्भावना रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ स्थित सहरी स्वास्थ्य केन्द्रमा आइयुडी (कपर्टी), डिपो प्रोभेरा र साइनाप्रेस सकिएको करिब दुई महिना भएको छ। परिवार नियोजनका यी साधन नियमित रूपमा प्रयोग गरिरहेका र गर्न चाहने सेवाग्राहीलाई स्वास्थ्य संस्थाले त्यहाँ उपलब्ध अन्य साधन प्रयोग गर्न सल्लाह दिने गरेको छ।

    Article inline ad #1
  • ‘आइयुडी, डिपो प्रोभेरा र साइनाप्रेस हामीसँग छैन। यिनको प्रयोग गर्न चाहने सेवाग्राहीलाई विकल्पका रूपमा यहाँ उपलब्ध कन्डम र पिल्स प्रयोग गर्न सल्लाह दिइरहेका छौँ,’ केन्द्र प्रमुख पदमराज भट्टले भने, ‘कतिपयले कन्डम र पिल्स नै लिएर जान्छन्, कतिपय अन्यत्र लगाउने भनेर फर्कन्छन्।’ उनले केन्द्रमा दैनिक ५–६ जना सेवाग्राही परिवार नियोजनका साधनका लागि आउने गरेका जानकारी दिए। कैलालीको गौरीगंगा नगरपालिकास्थित मसुरिया स्वास्थ्य चौकीका प्रमुख लालप्रसाद पन्तले स्वास्थ्य संस्थामा डिपो प्रोभेराको मौज्दात एक महिनाअघि सकिएको बताए। डिपो लगाउन आउने सेवाग्राहीलाई अहिलेलाई कन्डम र पिल्स प्रयोग गर्न सल्लाह दिने गरेको पन्तले बताए। ‘पालिकामा अस्थायी साधनको मौज्दात सकिएको छ,’ गौरीगंगा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ईश्वरीप्रसाद भुसालले भने, ‘अहिलेसम्म स्वास्थ्य संस्थाहरूको मौज्दातले धानिरहेको छ। अबको केही दिनमै स्वास्थ्य संस्थाहरूमा अस्थायी साधनहरू सकिएर नपाउने अवस्था हुन्छ।’

    Article inline ad #2

    गोदावरी नगरपालिकाअन्तर्गत मालाखेती अस्पतालमा डिपो प्रोभेरा सकिएको तीन महिना भयो। ‘सेवाग्राहीलाई डिपोको साटो साइनाप्रेस लगाउने गरेका थियौँ, अहिले त्यो पनि सकिएको छ,’ अस्पतालकी नर्सिङ निरीक्षक यशोदा ढकालले भनिन्, ‘विकल्प नभएकाले सेवाग्राहीलाई अस्थायी साधन आएपछि आउन भनेर फर्काइरहेका छौँ।’ डिपो र साइनाप्रेस महिलाले तीन–तीन महिनामा लगाउनुपर्ने अस्थायी साधन हुन्। डिपो प्रोभेरा, इम्प्लान्ट, साइनाप्रेस, आइयुडीलगायतका परिवार नियोजनका साधनको प्रदेशभरि अभाव रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले जनाएको छ। संघ सरकारले उपलब्ध गराउने यी साधन आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला स्वास्थ्य कार्यालयहरू र जिल्ला स्वास्थ्यले पालिकामार्फत स्वास्थ्य संस्थाहरूमा आपूर्ति गर्छन्

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी एवं फार्मेसी निरीक्षक जयन्द्र बोगटीले केन्द्रमा इम्प्लान्ट, डिपो र साइनाप्रेसको मौज्दात सकिएको दुई–तीन महिना भएको जानकारी दिए। उनका अनुसार अन्य साधनको पनि आकस्मिक मौज्दातसमेत सकिँदै छ। ‘कन्डम, पिल्सलगायत अन्य साधनको आकस्मिक मौज्दात पनि सकिन लागेको छ,’ बोगटीले भने, ‘संघबाट नआउँदा गत जेठबाटै परिवार नियोजनका साधनको अभाव भएको हो।’ सबै जिल्लाबाट परिवार नियोजनका साधनको माग भइआए पनि मौज्दात थोरै भएकाले पठाउन नसकिएको केन्द्रले जनाएको छ। केन्द्रमा अहिले कन्डम दुई लाख पिस, पिल्स चक्की तीन हजार २४ साइकल र आइयुडी ३५० सेट मौज्दात रहेको सूचना अधिकारी बोगटीले जानकारी दिए। केन्द्रले पछिल्ला १३ महिनामा प्रदेशभरि २३ लाख ५० हजार सात सय पिस कन्डम, दुई लाख पाँच हजार ३७८ साइकल पिल्स, एक हजार २५ सेट आइयुडी वितरण गरेको जनाएको छ। त्यस्तै, डिपो ७५ हजार चार सय, इम्प्लान्ट १६ हजार ३१० भाइल र साइनाप्रेस २४ हजार सात सय भाइल वितरण गरिएको बोगटीले जानकारी दिए। केन्द्रका अनुसार साइनाप्रेस कैलालीसहित तीन जिल्लामा मात्र लागू भएको छ।

    महिलाले प्रयोग गर्ने डिपो र साइना तीन–तीन महिनामा लगाउनुपर्छ भने आइयुडी, इम्प्लान्ट बहुवर्षीय अस्थायी साधन हुन्। पिल्स खानेचक्की हो। सुदूरपश्चिममा खपत हुने अस्थायी साधनको करिब ४० प्रतिशत कैलाली र २० प्रतिशत कञ्चनपुरमा खपत हुने गरेको सूचना अधिकारी बोगटीले जानकारी दिए। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर परिवार नियोजनका साधनको सहज उपलब्धता नहुँदा पर्ने असर बहुआयामिक रहेको बताउँछन्। चाहनाभन्दा बढी सन्तान, जनसंख्या वृद्धि, गर्भपतन, बढी सन्तान जन्माउँदा महिलाको स्वास्थ्यमा समस्याजस्ता असर देखिने उनले बताए।

    ‘अनिच्छित गर्भधारण हुन सक्छ, सन्तानको संख्या चाहनाभन्दा बढी हुने, गर्भपतन बढ्छ, असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यान जोखिममा पर्न सक्छ,’ कुँवरले भने, ‘सन्तान बढी भए तिनलाई हुर्काउन, पढाउन, लेखाउन समस्या होला। यसले जनसंख्यामा समेत असर पर्छ।’ सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने परिवार नियोजनका साधनमध्ये कतिपय निजी अस्पताल र मेडिकलमा पाउँदैनन्। आपूर्ति केन्द्रका अनुसार इम्प्लान्ट, आइयुडीलगायत केही साधन निजी क्लिनिकमा किन्न पाइँदैन। ‘सुगम क्षेत्रमा विकल्पमा कन्डम, पिल्सलगायत केही साधन किन्न पाइएला, तर मेडिकल, क्लिनिक नभएको विकटमा नागरिकलाई किन्न सुविधा पनि हुँदैन,’ एक स्वास्थ्यकर्मीले भने, ‘यसले अवाञ्छित गर्भ रहने सम्भावना बढी हुन्छ।’

    प्रदेशभरि अहिले क्षयरोगविरुद्धको औषधि पनि अभाव रहेको आपूर्ति केन्द्रले जनाएको छ। संघीय सरकारले आपूर्ति गर्ने यो औषधि बजारमा किन्न पाइँदैन। सूचना अधिकारी बोगटीले परिवार नियोजनका साधन र औषधि अभावबारे केन्द्रमा पटकपटक जानकारी गराइएको बताए।नयाँपत्रिकाबाट

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by