
सांसद तारा लामा तामाङले छाउपडी प्रथाको अन्त्य र संसदीय मर्यादाको रक्षा गर्न माग
कञ्चनपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तामाङले संसदमा आफ्नो धारणा राख्दै कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले डसेर शनिबार राति सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको घटनालाई पीडादायी भएको बताएका छन् । “मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै उनले भने, “अत्यन्त गरिबी झेलिरहेको परिवारकी मृतक हालै भारतबाट घर फर्किनुभएको थियो। श्रीमान् पुरन दमाई भारतमा हुनुहुन्छ भने छोराहरू आयुष दमाई (१५ वर्ष), आशिष दमाई (१२ वर्ष) र आदित्य दमाई (५ वर्ष) छन्। मृतकको परिवारलाई राहत तथा आर्थिक सहयोगका लागि अनुरोध गर्दछु।”
संसदको गरिमा र सांसदहरूको जिम्मेवारीबारे बोल्दै सांसद तामाङले पछिल्लो समय संसदभित्रका केही अभिव्यक्तिहरूले ‘झुटा शिक्षक’ ‘झुटा भविष्यवक्ता’ वा ‘भ्रमकारी’ जस्ता आरोप लाग्ने स्थिति सिर्जना गरेको उनले बताए । “सामाजिक सञ्जालहरू जस्तै फेसबुक, युट्युब र टिकटकमा फैलिने मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्विचले समाजमा जातीय, क्षेत्रीय र धार्मिक असहिष्णुता बढाइरहेको छ,” उनले भने। यस्ता भ्रमपूर्ण कुरालाई संसदमा प्रवेश गराउनु दुःखद भएको उल्लेख गर्दै उनले सांसदहरूलाई सत्यमा आधारित र संयमित अभिव्यक्ति दिन आग्रह गरे ।
“संसद्लाई विवादको थलो होइन, समाधानको मञ्च बनाऔँ,” भन्दै उनले सभामुख मार्फत सरकार र सांसदहरूलाई जनसरोकारका विषयमा संवेदनशील बन्न सुझाव दिए । साथै, विचाराधीन मुद्दाहरूमा अनौपचारिक टिप्पणीले लोकतान्त्रिक संस्कृतिलाई चोट पुर्याउने खतरा औँल्याउँदै संसद नियमावलीअनुसार असंयमित अभिव्यक्तिमा कार्यवाही गर्न सभामुखलाई आग्रह गरे ।
यस्तै उनले वर्षा यामका कारण कञ्चनपुरको दोदा, चौधर र महाकाली नदीलगायत देशका अन्य नदीहरूमा बाढी तथा पहिरोको जोखिम बढेको उल्लेख गर्दै सांसद तामाङले जनधनको क्षति न्यूनीकरणका लागि सरकारलाई उच्च सतर्कता अपनाउन अनुरोध गरे
प्रशासन न्युजबाट साभार















