
चिसापानी कर्णाली नदीको पुल मर्मत
धनगढी: कैलाली र बर्दियाको सीमा क्षेत्रमा पर्ने चिसापानी कर्णाली नदीको पुल मर्मत थालिएको छ।
२०५१ साल मंसिर २८ गते उद्घाटन भएको चिसापानीस्थित अत्याधुनिक कर्णाली पुलको स्टिल पार्टको रङ्गरोगन पुल महाशाखाले यसै आर्थिक वर्षमा गर्ने तयारी गरेको सडक कार्यालयले जनाएको छ।
एउटा मात्र टावर भएको, असमानुपातिक केबुल स्टेड प्रकारको यो पुल पाँच सय मिटर लम्बाइको छ। यसमा टावरको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर भाग फैलिएको छ। टावरको उचाइ एक सय २० मिटर रहेको छ।
फाउन्डेसन १३ मिटर गहिरो छ भने पुलको डेक फलामे स्लेम जडान भएको ट्रस माथि प्रिकास्ट कङ्क्रिट स्ल्याब जडान गरिएको छ। डबल लेन रहेको यो पुल ११ दशमलव ३ मिटर चौडा छ।२०४४ सालमा निर्माण सुरु गरिएको कर्णाली पुल सात वर्षमा सम्पन्न भएको थियो। पुल निर्माणमा नेपाल, अमेरिका, भारत, थाइल्यान्ड, श्रीलंका लगायत १४ देशका प्राविधिक र कामदार संलग्न थिए।
त्यस बेला पुल निर्माणमा ३६ करोड २४ लाख रुपैयाँ खर्च भएको थियो। पुल निर्माण भएको तीन दशक बितिसक्दा पनि रङ्गरोगन भएको छैन। बर्सेनि बाढीले पुलमुनि रहेका सिमेन्टका दर्जनौँ ब्लक बगाउने गरेको छ।ब्लक बगाउँदा नदीले पुलको किनारबाट धार बगाउने खतरा बढेको छ। त्यस्तै, २०६२ साल पुस ७ गते सुरक्षा फौज र माओवादीबिच भएको भिडन्तमा पुलको अधिकांश संवेदनशील भागमा करिब ८०–९० वटा गोली लागेका थिए।
पुलका धेरै स्थानमा खिया लागेको र नट फुस्किएकाले सवारी साधन गुड्दा टावर हल्लिने गरेको छ। यो पुलबाट दैनिक करिब एक हजार साना र ठूला सवारी साधन सञ्चालन हुने गरेको छ।