
सुदूरपश्चिमको मानव विकास सूचकांकमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छ : परराष्ट्रमन्त्री राणा
काठमाडौँ – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले मानव विकास सूचकांकमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुनेगरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताएकी छन् । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा आज काठमाडौँमा आयोजित आ.व. २०८२/०८३ का लागि संघीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरु विषयक अन्तरक्रियामा उनले सो धारणा राखेकी हुन् ।
उनले कनिका छरेजस्तो गरी अनेक शीर्षकमा बजेट छुट्याउने मात्र भन्दा पनि कुन समुदायलाई प्रत्यक्ष या अप्रत्यक्ष लाभ पुग्छ र कुन क्षेत्रको विकास हुन्छ भनेर ठोस रुपमा योजना र कार्यक्रमहरु तय गर्ने र तोकिएको समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउनुपर्ने सुझाव पनि दिइन् ।
मन्त्री डा.राणाले कृषि, पर्यटन र पूर्वाधार निर्माण नै सुदूरपश्चिम क्षेत्रका प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिँदै कृषिजन्य उत्पादनलाई व्यवसायिक तथा आधुनिक कृषिसँग जोड्नुका साथै बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन् । उनले सुदूरपश्चिममा पनि देशका अरु भूभागमा जस्तै मानिसहरुको बसाईंसराईले जमिन बाँझो छोड्ने प्रवृत्ति बढेकाले हाल खेतीयोग्य जमिन के कति छ भन्ने यकिन गरेर उक्त जमिनमा आधुनिक र व्यावसायिक खेतीका लागि योजना बनाउनुपर्ने बताइन् ।
मन्त्री डा.राणाले सुदूरपश्चिम क्षेत्र धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका क्षेत्रमा निकै समृद्धि रहेकाले पर्यटन प्रवर्धन गर्न ‘हस्पिटालिटी’ लगायतका पर्यटकीय पूर्वाधार निर्माणका क्षेत्रमा प्रभावकारी योजना र बजेटका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले भनिन्– ‘यसका लागि हामी आफैँले पनि स्थानीय स्तरमा केही गर्नुपर्दछ । जस्तो कि म भर्खरै कोशी प्रदेश गएकि थिएँ, त्यहाँ यस बर्षलाई कोशी भ्रमण बर्षका रुपमा मनाउने घोषणा गरिएको रहेछ । हामीले हाम्रा सांस्कृतिक धरोहर र पर्यटकीय सम्पदाहरुलाई चिनाउनेगरी केही गरिरहनुपर्दछ ।’
उनले सुदूरपश्चिममा यस्ता पूर्वाधारका क्षेत्रमा बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर हामी सबै सामूहिक रुपमा लाग्नुपर्नेमा जोड दिइन् । पूर्वाधार निर्माणका क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्न सकियो भने यसबाट समग्र प्रदेश नै लाभान्वित हुनसक्ने उनले बताइन् ।
Good https://urlr.me/zH3wE5
Very good https://urlr.me/zH3wE5
Very good https://rb.gy/4gq2o4
Good https://rb.gy/4gq2o4
Very good https://rb.gy/4gq2o4
Good https://rb.gy/4gq2o4
Good https://rb.gy/4gq2o4
Good https://is.gd/N1ikS2