
पुनर्वासमा मिडियाकै गुनासोले तातिए प्रहरी,मध्यराति जुवाखालबाट मान्छे सहित कार र मोटरसाइकल नियन्त्रणमा
पुनर्वास -एकदिन अगाडि मात्रै विश्व खोज दैनिकले कंचनपुरको पुनर्वासमा खुलेआम लाखौको जुवा हुने बारे सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखलाई जानकारी गराएर समाचार तयार गरेको थियो ।
समाचारको प्रभाव र हामीले दिएको जुवाको जानकारी पछि प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले तुरुन्तैको एक्सनमा पठाएको प्रहरीले मध्यराति जुवाखालमा छापा हानेको छ ।
पुनर्वास नगरपालिका–१ पुरैनास्थित कच्ची सडकखण्डमा त्रिपाल ओछ्याएर जुवा खेलाइरहेको सूचना पाएपछि प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले शनिबार राति करिब २ बजे घटनास्थल पुगेर छापा हानेको हो ।
प्रहरीका अनुसार छापा मार्ने क्रममा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका जगतबहादुर धामी, धनगढी उपमहानगरपालिका–४ का विक्रम विष्ट, धनगढी–१२ जुगेडाका प्रेमबहादुर सिंह, बझाङको बुंगल नगरपालिका–११ का कृष्ण बाहेरा र पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका सुरेश तामाङ छन्।
प्रहरीले उनीहरूको साथबाट २० हजार ९१० रुपैयाँ नगद बरामद गरेको जनाएको छ। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरी टोली जुवाखालमा पुगेपछि जुवामा संलग्न व्यक्तिहरूबीच भागाभाग मच्चिएको थियो। प्रहरी टोली पुगेपछि अन्य केही व्यक्तिहरू अँध्यारोको फाइदा उठाउँदै फरार भएको बताइएको छ। घटनास्थलबाट चार वटा कार, दुई वटा स्कुटर र नौ वटा मोटरसाइकल भेटिएका छन्।
प्रहरीले घटनास्थलमा छाडिएका सवारीसाधनबारे समेत आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ।















