
बैतडीको मेलौली र शिवनाथमा दुई बालिका करणी, २ जना पक्राउ
धनगढी: बैतडीमा दुई बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई जनालाई बैतडी प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार मेलौली नगरपालिकाकी १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ। ती पुरुषले बालिकामाथि २०८० असार र कात्तिकमा जबरजस्तीकरणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। उक्त घटनामा संलग्न भनिएका पुरुषको परिचय पनि गोप्य राखिएको छ।
यस्तै, शिवनाथ गाउँपालिकाकी १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ। ती पुरुषले फकाएर गत माघमा बालिकामाथि बलात्कार गरेको जाहेरीको आधारमा उनलाई आइतबार पक्राउ गरिएको बैतडी प्रहरी प्रवक्ता बडूले जानकारी दिए।