
प्रधानमन्त्री सुदूरपश्चिम पस्दा पूर्वराजा काठमाडौंतिर, देउवाको टोली भोलि धनगढी पुग्ने
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आएका छन्।
ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आएका हुन्।
हेलिकप्टरमार्फत आएका ओलीले कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गरिरहेका छन्।त्यसपछि उनले धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
त्यसपछि भने धनगढी उपमहानगरपालिका-८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
यस्तै उता एक महिना लामो पोखरा बसाइपछि पूर्वराजा पनि काठमाडौँ फर्किन लागेका छन्। फर्किन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा समर्थकहरु एयरपोर्ट पुगेका छन्। माघ २७ गते पोखरा गएका पूर्वराजा आज तीन बजे समिट एयरको चार्टड जहाजमार्फत् त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिदैछन्। उता पोखरामा पूर्व राजालाई ठेकीको दही खुवाएर दुबोको मालाले सम्मानसहित जहाज चढाउन लागिएको छ।
त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि भोलि धनगढी आउने भएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा सोमबार बिहान धनगढी आउने कार्यक्रम तय भएको नेपाली काँग्रेस प्रदेश कार्यसमिति सुदूरपश्चिमले जनाएको छ।
उनको स्वागतका लागि धनगढी विमानस्थलमा उपस्थित हुन काँग्रेस सुदूरपश्चिमले नेता–कार्यकर्तालाई आग्रह गरेको छ।
काँग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन्। सभापति देउवासंगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको बताइएको छ।