
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो प्रहरीको गाडी पनि जलाइयो
काठमाडौं — नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ ।
लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको भ्यान जलेको जानकारी दिए । ‘झडप भएपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको छ । घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ जिसीले अनलाइनखबरसँग भने ।
आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो (सोमबार) बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो ।
करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुबालाई गत माघमा कुटपिट गरेका थिए ।
सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो ।
तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।
यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भई कुटपिटमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भइरहेको वडाध्यक्ष गोधनप्रसाद हरिजनले जानकारी दिए ।
अनलाईन खबर