पुनर्वासका किसानको पिडामा सरकारको मौनता प्रति सदनमै जंगिए प्रदेश सभा सदस्य थापा
पुनर्वास– साउन २३ र २४ गते दोदा नदिमा आएको बाढीका कारण कंचनपुरको पुनर्वास नगरपालिका–५,७,८ र ९ मा धानबाली र उखु बाली नष्ट भएको बिषयमा दोस्रोपटक सदनमा जंगिदै आवाज उठाएका छन् ।
पुनर्वासमा रहेको भागेश्वर चिनिमिलको केमिकलले करिब एक हजार बिघा जमिनको खेतीबाली नष्ट गरेको विषय कंचनपुर निर्वाचन क्षेत्र १“१” का प्रदेश सभा सदस्य विरबहादुर थापाले बुधबार भएको संसदिय सभाको वर्षे अधिवेशनको २२ औं सदनमा उठाएका हुन् ।
“चिनिमिलकै केमिकलका कारण धानबाली नष्ट भएको ल्याब परिक्षण रिपोर्टबाट प्रमाणित भएको छ । केमिकलबाट भएको धान बाली र उखु बालीको क्षतिपुर्ती चिनिमिलबाट भराउन प्रदेशको कृषि मन्त्रालय र मुख्यमन्त्रीको गम्भीर ध्यान जाओस् ध्यानकर्षण गराउदछु ।“ प्रदेश सभा सदस्य थापाले भने, “करिब दुई महिना बितेको छ । सरकारले कुनैपनी काम गरेको छैन यसको जवाफ सदनमै चाहिन्छ । सभामुखलाई सम्बोधन गर्दै संसदिय समिती बनाएर यसलाई छानबिन गर्न जोडदार माग गर्दछु ।”
यतिठुलो किसानमाथी आहत हुँदा सम्म प्रदेश सरकारले कुनै प्रतिक्रिया नदिनु, त्यसको लगत नलिनु, के भएको छ भन्नेमा बेखबर हुन यो आफैमा दुःखद भएको उनको भनाई थियो ।
“त्यस्तै सिमरी र उदरीका किसानहरुको पिडालाई सुनाउँदै प्रदेश सभा सञ्चालन नहुँदा जनताका थुप्रै समस्याहरुका आवाज उठाउन पाएका छैनौ । गाउँमा हामीहरुलाई जनताले जुत्ताको माला लगाउने स्थिति बनेको छ । जनताका आवाज उठाउने थलोलाई बन्द गरेर सरकार भागीराखेको छ । यसलाई तुरुन्त सुचारु गरि जनताका आवाज उठाउने व्यवस्था होस र प्रदेश सरकारले के गरिरहेको छ यसको जवाफ समेत आओस ।” प्रदेश सभा सदस्य थापाले भने,
अघिल्लो सदन र अहिलेको सदनमा किसानको पिडाको विषयमा आवाज उठाउँदा पनि सभामुखबाट कुनै जवाफ नआउने गरेको प्रदेश सभा सदस्य थापाको गुनासो छ ।