३३ औं अन्तर्राष्ट्रिय दिवस : पुनर्वासमा १ सय १८ जना जेष्ठ नागरिकलाई सम्मान
पुनर्वास – आईतबार ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस कंचनपुरको पुनर्वास नगरपालिकामा पनि मनाईएको छ ।
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको आयोजना तथा पुनर्वास नगरपालिकाको प्रायोजकमा आयोजित कार्यक्रममा १ सय १८ जना जेष्ठ नागरिकलाई सम्मान गरि मनाईएको हो ।
समाजका अध्यक्ष विश्वनाथ बिष्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा निवर्तमान नगर प्रमुख जिवनराज थापा,उपप्रमुख भुलिया राना,निवर्तमान उपप्रमुख शारदा बिष्टको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै उपस्थित विभिन्न व्यक्तित्वहरु अतिथीमा आसिन हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी नगर प्रमुख तोयप्रसाद शर्माले जेष्ठ नागरिक राष्ट्रको गहना भएको बताउनुभयो ।
उहाँले जेष्ठ नागरिकहरुको सम्मान गर्न सक्नु नै ठुला ठुला तिर्थयात्राको भन्दा बढि पुण्य हुने जानकारी दिनुभयो ।
प्रत्येक वर्ष आयोजना गर्दै आएको उक्त सम्मान कार्यक्रममा पुनर्वास नगरपालिकाको ११ वटै वडाहरुका ८१ वर्ष उमेर माथीका जेष्ठ नागरिकहरुलाई नगद,प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको समाजका अध्यक्ष विश्वनाथ बिष्टले जानकारी दिनुभयो ।
कार्यक्रम पुनर्वास नगरपालिका-६ स्थित प्रतिभानगर बजारको खुल्ला मञ्चमा आयोजना गरिएको थियो ।