कंचनपुरका तीनै निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फको मतगणना सम्पन्न
कंचनपुर – कञ्चनपुरमा प्रतिनिधि सभाका तीन वटै निर्वाचन क्षेत्रहरूकाे प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ।
प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा प्रत्यक्ष तर्फका सबै मतगणना सम्पन्न भएको हो ।
कंचनपुर निर्वाचन क्षेत्र १ को प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रहेकी बीना मगरलाई ५ हजार ५ सय ४२ मतले पराजित गर्दै नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् ।
तामाङले २४ हजार ८ सय ९२ मत प्राप्त गर्दै विजयी भएका हुन् । तामाङ यस अघि सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका थिए ।
त्यसैगरी, कंचनपुर निर्वाचन क्षेत्र २ मा नेपाली काङ्ग्रेसका नारायण प्रसाद साउद २८ हजार १ सय मतका साथ विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीलाई ६ हजार ४ सय ५५ मतले पराजित गरेका हुन् ।
यस अघि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा साउदलाई धामीले पराजित गरेका थिए ।
त्यस्तै कंचनपुर निर्वाचन क्षेत्र ३ मा नेपाली काङ्ग्रेसका उम्मेदवार रमेश लेखकले १२ हजार१ सय पाँच मतको अन्तरबाट नेकपा एमालेकी निरु देवि पाललाई हराउँदै विजयी भएका छन् । लेखकले ३० हजार ५ सय २३ मत प्राप्त गरेका छन् ।
निर्वाचित लेखक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए ।
प्रत्यक्ष तर्फको मतगणना सम्पन्न पछि हिजो (बिहिबार) देखि नै कंचनपुर निर्वाचन क्षेत्र २ र ३ को समानुपातिक तर्फको मतगणना सुरु गरिएको छ भने कंचनपुर निर्वाचन क्षेत्र १ मा भने आज (शुक्रबार ) बाट सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।