
पुनर्वास नगरपालिका–९ मा मदिरा र डिजेका लागि अनुमति लिनुपर्ने
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका–९ वडामा मदिरा बिक्रि र डिजे बजाउन अनुमति लिनुपर्ने भएको छ ।
आईतबार वडा कार्यालयले घोषणा कार्यक्रमको आयोजना गर्दै मदिरा र डिजे नियन्त्रण तथा व्यवस्थापन गर्न समिती गठन गरि अनुमति लिनुपर्ने नियम लागू गरेको हो ।
वडा कार्यालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (४) खण्ड (ख)(१३) र दफा १०२ बमोजिम सो वडा कार्यालयले मदिरा र डिजे नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी नियम २०८० स्थानीय वडा राजपत्र समेत तयार गरेको वडाध्यक्ष नरबहादुर बिश्वकर्माले जानकारी दिए ।
वडाले तोकिएको स्थानमा अनुमति पाएका व्यवसायीले साँझ ५ बजेदेखि ९ बजेसम्म मदिरा बिक्रि वितरण गर्न पाईने छ । त्यस्तै प्रहरी चौकीबाट अनुमति लिर्र्र्र्ई राती १० बजेसम्म मात्रै डिजे बजाउन पाईने वडाध्यक्ष बिश्वकर्माले बताए ।
वडाध्यक्ष बिश्वकर्माका अनुसार मदिरा र डिजेका कारण समाजमा विकृति फैलिएको भन्दै यसलाई रोक्न समिती गठन गरिएको र नियमको उल्लंघन गरेमा एक हजार देखि दशहजार सम्म जरिवाना नियमावली राजपत्रमा उल्लेख गरिएको बताए ।
त्यस्तै नगर प्रमुख तोयप्रसाद शर्माले अभियान सुरुवात गरिएको छ । यसलाई सबै वडाबासीले पालन गरि कार्यान्वयन गर्न सके अन्य वडाहरुले पनि यसको सिको गरि नियम लागु गर्ने बताए ।
उनले मदिरा र डिजेका कारण समाजमा विकृति फैलिदै आएकाले यसको पूर्ण नियन्त्रण गर्नसके समाज रुपान्तरण गर्न सकिने सुनाए ।
त्यसैगरी कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले वडा कार्यालयले बनाएको नियमको सबैले पालना गरिदिन अनुरोध गरेका थिए ।
“बिना हेल्मेट मोटरसाईकलमा ५÷६ जना सम्म सवार गर्ने गरेको देखिन्छन्”उनले भने, “मेरै लागि भएपनि हेल्मेट र ट्राफिक नियमको पालना गर्दिनुहोला । नभए कानुन बमोजिमको कार्वाही गर्न आफु बाध्य हुनेछु ।”
त्यसैगरि कार्यक्रममा सहभागीहरुले अभियान सफलताको शुभकामना व्यक्त गर्दै घोषणा कार्यक्रम कागजका पानामा मात्रै सिमित नरहेर साच्चिकै लागुहुनुपर्ने र घरेलु मदिरा पुर्ण रुपमा नियन्त्रण गरिनुपर्ने भनाई राखेका थिए ।