पुनर्वास नगरपालिकामा झण्डै ६८ लाख बजेट फिर्ता
कुल बजेटको ७५ प्रतिशत खर्च
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा झण्डै ६८ लाख बजेट फिर्ता पठाएको छ । नगरपालिकाले संघ र प्रदेश सरकारको सशर्त अनुदान मार्फत आएको ६७ लाख ९१ हजार ३ सय ७० रुपैयाँ ८२ पैसाको योजना कार्यान्वयन गर्न नसक्दा सो रकम फिर्ता गएको हो ।
संघीय सरकारको सशर्त अनुदान चालु र पुजिँगत खर्चतर्फ गरी ६२ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ ८२ पैसा र प्रदेश सरकारको विशेष अनुदान मार्फत प्राप्त ५ लाख ३ हजार ७ सय ९१ रुपैयाँ फिर्ता भएको पुनर्वास नगरपालिकाले जनाएको छ ।
जसमध्ये संघीय सरकारको सशर्त अनुदान चालु खर्चतर्फ २७ लाख ३० हजार ८ सय ५० रुपैयाँ ८२ पैसा र संघीय सरकारकै सशर्त अनुदान पुजिँगत खर्चतर्फ ३५ लाख ५६ हजार ७ सय २९ रुपैयाँ रहेको थियो । संघीय सरकारले पुनर्वास नगरपालिकाका लागि सशर्त अनुदान मार्फत ३० करोड ६० लाख ३० हजार २ सय ३३ रुपैयाँ र प्रदेश सरकारले विशेष अनुदान मार्फत ६१ लाख ७७ हजार ६ सय ५८ रुपैयाँ गरी ३१ करोड २२ लाख ७ हजार ८ सय ९१ रुपैयाँ विनियोजन गरेको थियो । जसमध्येबाट ६७ लाख ९१ हजार ३ सय ७० रुपैयाँ ८२ पैसा फिर्ता गएको हो । जुन २ दशमलव १७ प्रतिशत रहेको छ ।
-कति भयो त खर्च ?
त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा पुनर्वास नगरपालिकाले कुल बजेटको ७५ दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको छ । पालिकाले चालु खर्च तर्फ ५३ करोड ४९ लाख ३६ हजार ५ सय ५२ रुपैयाँ र पुजिँगत खर्च तर्फ ३३ करोड १५ लाख २१ हजार ४ सय ४८ रुपैयाँ गरी कुल ८६ करोड ६४ लाख ५८ हजार रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये चालु खर्च ४३ करोड ७० लाख ६५ हजार ७ सय ५१ रुपैयाँ ८५ पैसा खर्च गरेको छ । जुन ८१ दशमलव ७ प्रतिशत रहेको छ ।
त्यसैगरी पुजिँगत खर्च तर्फ २३ करोड ५६ हजार ७ सय ३७ रुपैयाँ २० पैसा खर्च भएको छ । जुन ६९ दशमलव ३९ प्रतिशत रहेको छ । समग्रमा आर्थिक वर्ष २०७९÷८० मा पुनर्वास नगरपालिले कुल ८६ करोड ६४ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ६६ करोड ७१ लाख २२ हजार ४ सय ८९ रुपैयाँ ५ पैसा खर्च भएको पुनर्वास नगरपालिकाले जनाएको छ ।
-राजश्व संकलन घट्यो ?
पुनर्वास नगरपालिकाको राजश्व संकलन घटेको छ । गत आर्थिक वर्ष २०७८÷७९ को तुलनामा केहि राजश्व घटेको हो ।
गत आर्थिक बर्ष २०७८÷७९ मा २ करोड ४० लाख ५५ हजार ६ सय २ रुपैयाँ संकलन भएकोमा २०७९÷८० मा २ करोड ३८ लाख ६ हजार १९ रुपैयाँ मात्रै संकलन भएको छ ।
यसरी हेर्दा नगरपालिकाले २०७९÷८० मा २ लाख ४९ हजार ५ सय ८३ रुपैयाँ राजश्व कम भएको जनाएको छ ।