सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार,अझै एक मन्त्रालय खाली
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तार भएको गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको सय दिनपछि उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । शनिवार नियुक्त भएका मन्त्रीले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसका बझाङबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेकपा (माओवादी केन्द्र) का अछामबाट निर्वाचित झपटबहादुर साउद सामाजिक विकासमन्त्री र कैलालीबाट निर्वाचित माओवादीकै रमेशसिंह धामी उद्योग, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ।
माओवादीबाटै डडेलधुराकी समानुपातिक प्रदेश सभा सदस्य गीतादेवी माललाई उद्योग, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री शाहसमक्ष राज्यमन्त्री माललेसमेत शनिबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।शपथ ग्रहण कार्यक्रममा सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र प्रदेश सभा सदस्य सहभागी थिए ।
कृषि मन्त्रालय खाली
शनिबार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तार गर पनि प्रदेश सरकारले पुर्णता भने अझै पाउन सकेको छैन । अहिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली रहेको छ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तीले दुई वटा मन्त्रालय मागेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली राखिएको हो ।
उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरुलाई दुई वटा मन्त्रालय दिने सहमति भएको तर अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताए ।
सरकार विस्तारपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक पार्टी चाँडै सरकारमा सामेल हुने बताए । उनले मन्त्रिपरिषद विस्तारले आगामी वर्षको बजेट निर्माणमा समेत सहज हुने बताए । सुदूरपश्चिम प्रदेशमा मन्त्री सात र राज्यमन्त्री तीन गरेर १० जनालाई मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ। शनिबार मन्त्रिपरिषद विस्तार भएपछि सो संख्या सात पुगेको छ। सातमध्ये छ जना मन्त्री र एक राज्यमन्त्री छन्।
नेपाली कांगेसका संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको सरकारमा सुरुदेखि नै कांगेसकै प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही आर्थिक मामिलामन्त्री छन् ।