
बेलौरीमा कुखुरा पालन किसानले नियन्त्रण गरेको कुखुरा बुझ्न प्रहरीको आनाकानी
बेलौरी–सोमबार मध्यराती भारतबाट अवैध रुपमा मोटरसाईकलमा ल्याउँदै गरेको ब्रोईलर कुखुरा नियन्त्रणमा लिएको छ ।
कुखुरा पालन किसानहरुको एक समुहले से.४प. ५६८३ नम्बरको मोटरसाईकलमा भारतबाट ल्याउँदै गरेको करिब डेढ क्विन्टल ब्रोईलर सहितको मोटरसाईकल र मान्छेलाई ईलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाएको हो ।
मध्यराती नै ईलाका प्रहरी कार्यालयमा पुगेर जिम्मा लगाउन खोज्दा एक प्रहरी सहायक निरिक्षकले कुखुरा सहितको मोटरसाईकल बुझ्न आनाकानी गरेको कुखुरा पालन किसान समुहका अध्यक्ष प्रकाश तामाङ्गले आरोप लगाएका छन् ।
आनाकानी गर्न थालेपछि आफुले गृहमन्त्रालय र कञ्चनपुरका एसपीलाई समेत राती नै फोन गरेको केहि घण्टाको अन्तरालपछि प्रहरीले जिम्मा लिएको उनले बताए ।
तर ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक सन्दिप शाहले सामान नबुझ्ने भन्ने हुँदैन बुझ्छौ । बुझ्ने पनि प्रक्रिया हुन्छ । उहाँहरुले गेटैबाट भनेका आधारमा बुझ्न गाह्रो हुन्छ । हामीले पनि चारकिल्ला,क्वरेन्टाईन सहितको मुचुल्का तयार गरेर आधिकारिक भन्नुपर्ने बताए ।
“आनाकानी गरेको भन्ने कुरा आरोप मात्रै भएको तर सोधपुछ गर्दागर्दै केहि समय लागेको हो ।” प्रहरी निरिक्षक शाहले भने, “अहिले कुखुरा सहितको मोटरसाईकल र मान्छे हाम्रो नियन्त्रणमा छ ।”
अहिले कञ्चनपुरको पुनर्वास र बेलौरीसँग जोडिएका भारतीय खुल्ला सीमा नाकाहरुबाट खुलेयाम खाद्यान्न, किराना, हार्डवेयर,कपडा,कुखुरा,माछा, अण्डा,पेयपदार्थ लगायतका मालसामानहरु सुरक्षा निकायकै कडा निगरानी र संरक्षणमा भित्रिने गरेको स्थानीयहरुको पनि आरोप छ ।