
बेलडाँडीमा प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न
कञ्चनपुर,१२ पुस । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले दक्षिणी क्षेत्रमै पहिलो पटक प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ ।
बेलडाँडी गाउँ कार्यपालिका र मातहतका कार्यालयहरूको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने र सेवाग्राहीहरूको गुनासो वा जिज्ञासाहरूको बारेमा पारदर्शी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले बताए ।
मङ्गलवार दिउँसो गाउँपालिकाको सभा हलमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सेवाग्राही , जनप्रतिनिधि , पेसाकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सबै वडाका वडाध्यक्षहरूले आआफ्नो वडाका गतिविधिहरू र प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले गाउँ कार्यपालिका तथा विषयगत शाखाका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको औचित्य र उद्देश्य बारे बेलडाँडी गाउँ पालिकाका प्रवक्ता गजबहादुर विष्टले प्रस्ट्याएको उक्त कार्यक्रममा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, खेलकुद, यातायात, विद्युत् लगायत विकासका पूर्वाधारहरू, पर्यटकीय क्षेत्रको प्रवर्द्धन, संरक्षण र विकास, छाडा पशु चौपायाको व्यवस्थापन, कृषि उत्पादन र बजारीकरण, पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन, शान्ति र सुशासन लगायतका विषयमा प्रश्न तथा सुझाव राखेका थिए ।
स्थानीय तहका जनप्रतिनिधिहरू र कर्मचारीहरूले सरोकारवालाहरूले राखेका प्रश्नको जवाफ दिएका थिए । प्रश्नकर्ता नागरिकहरूले राज्यले सरकारी क्षेत्रमा लगानी गर्ने तर राम्रो प्रतिफल नआइरहेको सन्दर्भमा विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समेत प्रभावकारी कार्यहरू गर्नुपर्ने सुझाव दिएका थिए ।
स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक चौमासिक रूपमै गर्ने योजना रहे पनि मङ्सिरमा निर्वाचनको समयमा सबैको व्यस्तताले एक महिना ढिला हुन गएको र आगामी समयमा प्रत्येक चार महिना सकिने समयमा नै सार्वजनिक सुनुवाइ कार्यक्रम गरिने गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले बताए ।
स्थानीय तहमा गत वैशाखमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएको ८ महिना बित्दा सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत पालिका र सरोकारवाला निकायहरूबाट दिइने सेवा सुविधा लगायत का सेवा प्रवाहका बारे नागरिकका गुनासा सुन्ने र जवाफ दिने यो कार्यक्रम सञ्चालन गर्ने दक्षिणी क्षेत्रकै पहिलो पालिका बेलडाँडी बनेको छ ।स्थानीय तहलाई पारदर्शिता र जबाफदेहीताका लागि सुशासन कार्यविधि बनाएर लागू गर्ने अधिकार भए पनि यहाँका अधिकांश स्थानीय तहहरूले जनताका गुनासो सुन्ने गरेको पाइएको छैन ।