
पुनर्वासका बिर बहादुर तामाङ भन्छन् : दृष्टी गुमाए पनि आत्मविश्वास गुमाएको छैन।
पुनर्वास- पुनर्वास नगरपालिकाबाट डेढ किलोमिटर तल एउटा सानो टिनको छानाले छोपिएको घर । घरबाहिर गोठ, वरिपरि केही बाख्राहरू घाँस खाइरहेका छन् । त्यहीँ बसोबास गर्छन् ५५ वर्षीया ध्यानजोम र उनका श्रीमान बिर बहादुर तामाङ । उनीहरुको साधारण जोडी होइन — जीवनको अप्ठ्यारो मोडमा पनि आत्मनिर्भरता र संघर्षको अद्वितीय मिसाल बन्न सफल एक असाधारण जोडी बनेको छ, पुनर्वास–३ रामबस्तीका लागी । बिर बहादुर तामाङ दृष्टिविहीन छन् । आँखाले देख्दैनन् तर उनको दृष्टिकोण तीखा र हिम्मतिलो छ ।

घरभित्रका काम, बाख्राको हेरचाह, गोठ सफा गर्नेदेखि लिएर नियमित कामहरूमा उनी सधैं सक्रिय छन् । हामी पुग्दा ध्यानजोम घासको भारी बोकेर, खेत बाट आउदै थिइन् । उनलाई आफ्नै दैनिकीको चटारो नै थियो भन्न सकिन्छ । ध्यानजोम लाई नेपाली बोल्न अलिक समस्या रहेछ, अनी आफ्ना दुःख बेदन सबै बिर बहादुरले नै हामीलाई सुनाए । जीवनका धेरै अध्यायहरू पार गरिसकेका उनीहरू अहिले बाख्रापालनमै रमाइरहेका छन् । यही आम्दानीको भरमा छोराछोरीको पढाइ, घरखर्च, औषधोपचार सबै चलिरहेको छ । गाउँमै सबल र सक्षम भएकाहरु बरोजगार भएको देख्दा तामाङ दम्पतीले आफ्नै हातले नयाँ बाटो बनाएका छन् । उनी भन्छन, “पहिला बाख्रा पाल्नु भनेको बस चराउनु मात्रै लाग्थ्यो । तर अहिले यो आम्दानीको मुख्य स्रोत बनेको छ ।”

यतीबेला ध्यानजोम र बिर बहादुरको जीवनले मोड लिएको छ — पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित ‘साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम’ मार्फत बाख्रा गोठ सुधार गरी उनीहरूको बाख्रापालन व्यवसाय अझ व्यवस्थित र सुरक्षित बनाइएको छ । गोठ सुधारपछि बाख्राहरूलाई आवश्यक हावा, पानी, सफाइ, खोरको संरचना मिल्दा उनीहरूलाई बाख्रापालन गर्न अझ सजिलो भएको छ । “पहिला झिँगा लाग्थ्यो, खोर स–साना हुन्थे, अहिले चाहिँ गोठ राम्रो बनेपछि सजिलो भयो,” बिर बहादुर सुनाउछन् । समुह मार्फत बाख्रा संगै बिभिन्न तालीमहरु समेत पाएको उनी बताउछन् । बाख्रापालन संगै बिरबहादुरले मुढा बनाउने तालीम पनि लिएका छन् ।

अहिले उनी प्रशिक्षककै रूपमा अरुलाई सिकाउने काम गरिरहेका छन् । आफू दृटिबिहिन भपनी सशक्त भएर, अरूलाई पनि सशक्त बनाउने सोचले अघि बढेको बिरबहादुर बताउछन् । दृष्टि गुमाएका श्रीमान् र सशक्त श्रीमती — उनीहरूको जीवनशैली एउटाले अर्काको अभाव पूर्ति गर्ने परिपूरक सम्बन्धको उत्कृष्ट उदाहरण बनेको छ, ध्यानजोम र बिर बहादुरको जोडी । गाउँमा धेरैले उनीहरूको संघर्ष, सादगी र सफलतालाई सम्मानका साथ हेर्छन् । “हामीलाई सहयोग गर्ने निकायहरूलाई धन्यवाद छ । हाम्रो आत्मबल अझ बढेको छ,” बिर बहादुर भन्छन् । बिर बहादुरको एउटा भनाइले यो जोडीको सारा जीवन दर्शन बुझिन्छ, “शरीरले देख्न सक्दैन, तर मनले देख्छ, यदि मनमा आँट छ भने जीवन हरेक अन्धकार बाट उज्यालो तिर जान सक्छ ।”















