काठमाडौंमा के गर्दैछन् पुनर्वासका मेयर सहितको टिम ?
पुनर्वास– केहि दिन अघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुख, उपप्रमुख सहित कर्मचारीको टिम विभिन्न योजनाको माग गर्दै डेलिगेशनमा काठमाडौं पुगेका छन् ।
उक्त डेलिगेशनको टिमले पुनर्वास नगरपालिका क्षेत्र भित्रका विभिन्न समस्याहरुको समाधानको माग गर्दै योजना मागपत्र सहित मन्त्रालयमा बुझाएका हुन् ।
मेयर सहितको टिमले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुनर्वास नगरपालिका–१ देखि ११ वडा सम्मका धार्मिक पर्यटन क्षेत्रको प्रवद्धनका लागि मठमन्दिर, चर्च, गुम्बा र रानाथारु संग्रहालयका भौतिक संरचना निर्माण गर्न लागत स्टिमेट सहित पेश गरेका थिए । सोहि दिन पुनर्वास नगरपालिका क्षेत्रका प्रहरी चौकी र सशस्त्रका बिओपीहरुको स्तरोन्नतीका लागि आवश्यक पहल गरिदिन समेत मौखिक अनुरोध गरिएको पुनर्वास नगरपालिकाका योजना अधिकृत शंकर बोगटीले जानकारी दिए ।
त्यस्तै बिहिबार शहरी विकास मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विभिन्न सडक, क्याम्पस, पुस्तकालय र दोदा नदिको तटबन्ध लगायतका दर्जनौ योजनाको लागत स्टिमेट सहित बुझाएको योजना अधिकृत बोगटीले बताए ।
यसैगरी शुक्रबार मेयर शर्माले पुनर्वास नगरपालिकाको मुल समस्या रहेको सुकुम्बासी समस्या समाधानका विषयलाई भुमि आयोग र प्रधानमन्त्री बिच प्रत्यक्ष भेटवार्तामा अनुरोध गरेका छन् ।
फोनमा गरिएको कुराकानीमा मेयर शर्माले आज पनि मन्त्रिपरिषदको कार्यालय पुगेको र भोली (आईतबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डेलिगेशनमा जाने जानकारी दिएका थिए । मन्त्रालयको काम आईतबार सकिएपछि सोमबार डेलिगेशनको टिम पुनर्वास फर्किने समेत बताए ।