धनगढीकी मनकारी पुष्पाले गरिन करेन्ट लागेर थलिएका बसन्तलाई आर्थिक सहयोग अभियान
धनगढी, ५ असार । धनगढीकी मनकारी पुष्पाले करेन्ट लागेर थलिएका बसन्तका लागि आर्थिक सहयोग अभियानको थालनी गरेकी छन् । करेन्ट लागेर गम्भीर घाइते भएका र हालसम्म पनि निको हुन नसकेका राजीपुरका वसन्त बडैलाको लागि मनकारी पुष्पा बडैलाले आर्थिक सहयोग अभियानको थालनी गरेका हुन् ।
डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका घर भइ हाल कैलालीको गौरीगंगा नगरपालिका-४, राजीपुर बस्दै आएका १५ वर्षीय वसन्त बडैला यही बैशाख २५ गते सोही ठाउँको कालिका माध्यमिक विद्यालयको छतमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । बिगत एक महिनादेखि उनी भारतको लकनऊको किंगस् गोर्गेज मेडिकल युनिभर्सिटी अस्पतालको आईसीयूमा भर्ना भएका छन् । उपचारको क्रममा उनले दुबै हात गुमाइ सकेका छन् भने भारतीय रुपैयाँ १० लाखसमेत गुमाइसकेका छन् ।
विगत एक महिनादेखि उपचार गर्दा गर्दै सम्पूर्ण जायजेथा सकिएर आर्थिक समस्या देखिएपछि उनको थप उचारको लागि एउटा मानवीय धर्म निर्वाह गर्दै अभियानको थालनी गरिएको कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी पुष्पा बडैलाले जानकारी दिइन् ।
पुष्पाले बसन्तको प्राण बचाइ दिन देशबिदेशमा रहेका सम्पूर्ण मनकारी व्यक्तित्व, संघ र संस्थाहरुलाई अपीलसमेत गरेकी छन् । सहयोग र सुझावका लागि भन्दै पुष्पाले आफ्नो फेसबूकवालमा बैंक अफ काठमाण्डूको खाता १५०६०००००२५१५२४ र मोबाइल ९८२१६८८८५३ नम्बर सार्वजनिक गरेकी छन् ।