पुनर्वासमा एमाले नेता बिश्वकर्माले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी त्यागे
पुनर्वास – नेकपा एमालेका नेता बीरबल विश्वकर्माले समावेशी नीति विपरित टिकट वितरण गरिएको भन्दै पार्टी त्यागेका छन् ।
एमाले पुनर्वास नगर कमिटीले सोमबार तीन वडामा दलित समुदायका नेताले पाएको अध्यक्षको टिकट फिर्ता लिएको प्रति असन्तुष्ट जनाउँदै नेता विश्वकर्माले मंगलबार पार्टी छाडेका हन् ।
चार दशक देखि टोल कमिटी हुँदै नगर जिल्ला र प्रदेश कमिटीमा निरन्तर पार्टीले दिएको जिम्मेवारी ईमानदारी पुर्वक वहन गर्दै आएका बिस्वकर्माले विगत केही समय यता पार्टीमा सिमित व्यक्तिहरूको हालिमुहाली , गुटबन्दी तथा चाकडीवाद हावी हुँदै आएको र पार्टीको संगठनमा आवद्ध सिङ्गो दलित समुदायलाई चरम उपेक्षा गरिएपछि पार्टीमा रहनुको कुनै विकल्प नरहेको ठहर गरि पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी छाड्न बाध्य भएको बताए ।
बुधबार लिखित रुपमा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई उनले राजीनामा पत्र पठाएका छन् । विहान पुनर्वास स्थित आफ्नै निवासमा पत्रकारहरुसित कुराकानी गरेपछि उनले पार्टी छाडेका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विश्वकर्माले दलित समुदायको बाहुल्यता भएको पालिकामा दलितलाई नै टिकट वितरणमा उपेक्षा गरिएको गुनासो गरेका छन् । उनले गुट, चाकरी र पहुँचका आधारमा मात्रै टिकट पाइने भएपछि त्यसमा बस्नुको औचित्य नभएको राजीना पत्रमा उल्लेख गरेका छन् ।
उनी एमालेका पूर्व मन्त्री लाल बहादुर विश्वकर्माका भाई हुन् । उनी पुनर्वास नगरपालिकाको मेयरका आकाँक्षी समेत थिए । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नगर अध्यक्ष पुजारालाई मेयरको टिकट दिएको छ ।