
२५० रुपैयाँको खरिदमा १० लाखको उपहार, करदाता प्रोत्साहन कार्यक्रमका पहिलो विजेता सार्वजनिक
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका उपभोक्ता साउन महिनाको बम्पर विजेता बनेका हुन्
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा साउन १ देखि १५ गतेसम्मको अवधिका विजेताहरूको घोषणा गरिएको हो। यस अवधिमा एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् भने प्रत्येक दिन एक–एक जना गरी १५ जनाले कर कट्टा गरी १ लाख रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन्।
विभागका अनुसार विजेताहरूको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्यान्डम स्याम्पलिङ’ प्रविधिबाट गरिएको हो। पूर्ण रूपमा कम्प्युटरकृत प्रणालीमार्फत हुने छनोट प्रक्रियामा कुनै मानवीय हस्तक्षेप नहुने भएकाले यसको निष्पक्षता सुनिश्चित गरिएको विभागले जनाएको छ।
साउन १ देखि १५ गतेसम्म उपभोक्ताले गरेका ७ हजार ७७ वटा नगद कारोबार विभागको प्रणालीमा दर्ता भएका छन्, जसको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ। यी कारोबारमा ३ हजार ९ सय १५ विक्रेता आबद्ध छन्।
त्यसैगरी, सोही अवधिमा अनलाइन भुक्तानीमार्फत २ करोड ५६ लाखभन्दा बढी कारोबार भएका छन्। ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँ बराबरका अनलाइन कारोबार भने स्वतः प्रणालीमा समावेश हुने व्यवस्था गरिएको विभागले जनाएको छ।
विभागले विजेताहरूको कुपन नम्बर र संक्षिप्त विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताको नाम र मोबाइल नम्बर भने सार्वजनिक गरिएको छैन। पुरस्कार विजेताले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्न सक्नेछन्।
सरकारले वस्तु तथा सेवा खरिद–बिक्रीमा बिल बिजक लिने–दिने संस्कारलाई प्रवर्द्धन गर्दै अर्थतन्त्रलाई थप औपचारिक, पारदर्शी र कर प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।


























