
सुदूरपश्चिममा एक महिनामै २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्यांकअनुसार दुर्घटनामा परी ४३२ जना सामान्य घाइते भएका छन्।
दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम कार्यान्वयनका लागि प्रहरीले विभिन्न अभियान सञ्चालन गरिरहेको भए पनि दुर्घटनाको संख्या उल्लेख्य देखिएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार बढी दुर्घटना हुने स्थान पहिचान गरी सडकमा राखिएका चेतनामूलक बोर्डको मर्मत तथा सुधारको कार्य भइरहेको छ। हालसम्म ८५ स्थानमा यस्ता बोर्डको मर्मत तथा सुधार गरिएको छ भने अन्य जोखिमयुक्त स्थानमा पनि सुधारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
त्यस्तै, धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा पैदल यात्रुको बाटो काट्ने सहजताका लागि जेब्राक्रस निर्माण तथा सुधार कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ। धनगढी-अत्तरियादेखि ६ लेन सडक खण्डमा लेन अनुशासन कायम गर्न पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्कीले बताए।
ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने क्रममा कात्तिक १ देखि २९ गतेसम्म ३ हजार ३९२ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ। उनीहरूबाट २८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने ४३२ जना चालकलाई कारबाही गरी २ लाख ४५ हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले चालक, सहचालक, व्यवसायी, विद्यार्थी तथा अन्य सडक प्रयोगकर्तालाई लक्षित गरी ८४० पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रमबाट ७६ हजार ६१९ जना लाभान्वित भएका छन्। यसैगरी, सार्वजनिक यातायातका सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने दुईवटा सवारीसाधनलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ। तीनपाङ्ग्रे सवारीसाधनको अव्यवस्थित पार्किङ व्यवस्थापनका लागि पनि स्थानीय तह र व्यवसायीसँग समन्वय गरिएको कार्यालयले जनाएको छ।
प्रहरीले ट्राफिक व्यवस्थापनका लागि सडक डिभिजन कार्यालय डोटी र डिभिजन सडक कार्यालय दिपायलको समन्वयमा ३५ थान ट्राफिक कोन र २० थान कनेक्टरसमेत प्राप्त गरेको छ। ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति र सडक सुरक्षाप्रति पर्याप्त सचेतना नहुँदा दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण बनेको देखिन्छ।















