
सुदूरपश्चिमका नरेशको मुद्दा जारी, ममताको लास भेटिएन, बयान भने ‘इन्कारी’
धनगढी-सामाजिक सञ्जालबाट सुरु भएको प्रेम सम्बन्ध। त्यसपछि विवाह र अमेरिकामा सँगै नयाँ जीवनको सुरुवात। छोरीको जन्मसँगै परिवार पूरा भएको खुसी। तर, त्यही सम्बन्ध केही वर्षमै यति तिक्त बन्यो कि श्रीमान्–श्रीमतीबीच दिनहुँ झगडा हुन थाल्यो। एकअर्कालाई धम्की दिने, आर्थिक कारोबारमा विवाद हुने र घरेलु हिंसासम्मका आरोप सार्वजनिक भए। अन्ततः श्रीमती बेपत्ता भइन् र श्रीमान् उनकै हत्या गरेको अभियोगमा अमेरिकी अदालतमा कठघरामा उभिनुपर्यो।
यो कथा हो, कञ्चनपुरको बेल्डाँडीका नरेश भट्ट र उनकी श्रीमती काभ्रेकी ममता काफ्ले भट्टको। अमेरिकामा नर्सका रूपमा कार्यरत ममता सन् २०२४ जुलाईको अन्तिम सातादेखि बेपत्ता छिन्। उनको हत्या गरी शव टुक्राटुक्रा पारेर फ्याँकेको अभियोगमा श्रीमान् नरेशले अहिले भर्जिनियाको प्रिन्स विलियम काउन्टी सर्किट कोर्टमा मुद्दा खेपिरहेका छन्। तर, ममताको शव अहिलेसम्म फेला परेको छैन।
ममता बेपत्ता भएको घटनाको एक महिनादेखि सुनुवाइ भइरहेको छ। अदालतमा उनीहरूको वैवाहिक सम्बन्धका अनेक पाटा खुलिरहेका छन्। बुधबारदेखि बचाउ पक्षले नरेशलाई नै साक्षीका रूपमा कठघरामा उभ्याएर बयान सुरु गरेको छ। बयानका क्रममा नरेशले सन् २०२४ को सुरुवातदेखि नै आफूहरूबीच दिनहुँजसो झगडा हुने गरेको स्वीकार गरे। आफूले ममतालाई सम्बन्धविच्छेदको धम्की दिने गरेको र ममताले आत्महत्या गर्ने धम्की दिने गरेको उनको दाबी थियो।
नरेशका अनुसार ममताले पकाएको खाना उनी खाँदैनथे। कहिलेकाहीँ ममतासँग पूर्ण रूपमा बोलचाल बन्द गर्थे। सुरुमा त्यसरी बेवास्ता गर्दा ममता शान्त हुने गरे पनि पछि त्यसले काम गर्न छाडेको उनले अदालतमा बताए। वैवाहिक सम्बन्ध विषाक्त बनेको स्वीकार गरेका उनले भने ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन्।
तर, ममताका आफन्त र साथीहरूको बयान अदालतमा नरेशले दिएको बयानसंग मेल खादैन। ममताका भाइ महेश काफ्लेले फेब्रुअरीको सुरुवाततिर ममताले अनुहारमा चोट र नीलडाम देखिने तस्बिर पठाएको बताएका छन्। आवश्यक परे सुरक्षित राख्न भन्दै ममताले ती तस्बिर पठाएको उनको भनाइ छ। ममताले घरमा आफू सुरक्षित नरहेको कुरा पटकपटक बताउने गरेको पनि महेशले अदालतमा बताएका थिए। ममताकी साथी सरिता न्यौपानेले पनि नरेशले कुटपिट गर्ने गरेको कुरा ममताले आफूलाई बताएको बयान दिएकी छन्। सरिताकै सहयोगमा ममताले छुट्टै बैंक खाता खोलेको विषयसमेत अदालतमा उठेको छ।
एक हजार डलरको विवाददेखि आत्महत्याका लागि उक्साएको सन्देशसम्म
नरेशको बयानमा आर्थिक विवाद र उनीहरूबीच आदानप्रदान भएका सन्देशले पनि स्थान पायो। सन् २०२४ को भ्यालेन्टाइन डेमा ममता साथी सरितासँग बाहिर घुम्न गएको र आफूलाई पनि सँगै जान आग्रह गरेको नरेशले बताए। तर, नेपाली चाडपर्व नभएको भन्दै आफू नगएको उनको भनाइ थियो।
ममता घर फर्किएपछि संयुक्त बैंक खाताबाट एक हजार अमेरिकी डलर निकालिएको उनले थाहा पाए। त्यसबारे सोध्दा ममताले आफूले पैसा ननिकालेको जवाफ दिएको नरेशले बताए। तर, सोही दिन ममताले आफ्नो व्यक्तिगत चेकिङ र बचत खाता खोलेको बैंक अभिलेखले देखाएको छ। सरिताले नरेशले ममताको पैसा नियन्त्रणमा राख्ने गरेकाले छुट्टै खाता खोल्न सहयोग गरेको बयान दिएकी थिइन्। नरेशले भने आफूले कहिल्यै पैसा नरोकेको दाबी गरेका छन्।
अदालतमा प्रस्तुत म्यासेजहरूमा उनीहरूबीचको सम्बन्धमा रहेको तिक्तता झनै प्रस्ट देखिन्छ। ममताले आफूलाई घरबाट निकालिएको महसुस भएको सन्देश पठाउँदा नरेशले त्यसको अर्थ आफूलाई घरमा स्वागत नगरिएको महसुस गर्नु मात्र भएको व्याख्या गरेका थिए। एक अर्को संवादमा ममताले पहिले खुसी भएका दिनहरूको टिकटक भिडियो पठाएपछि नरेशले आक्रोशपूर्ण जवाफ दिएको देखिन्छ। त्यसपछि ममताले नेपाली भाषामा आफूलाई आत्महत्याका लागि उक्साउने काम नगर्न आग्रह गरेको सन्देश पठाएकी थिइन्। नरेशले पनि भविष्यमा ममताले पछुताउनुपर्ने दिन आउने र पैसाका लागि जे पनि गर्न सक्ने आशयका सन्देश पठाएको अदालतमा स्वीकार गरेका छन्।
सरकारी वकिलले यी सन्देशलाई धम्की र मानसिक दबाबका रूपमा व्याख्या गरिरहेका बेला नरेशले भने नेपाली भाषाका सन्देशको अनुवाद गर्दा अर्थ बिग्रिएको जिकिर गरेका छन्। प्रहरी घरमा आएका कारण आफ्नो जागिर र सुरक्षा स्वीकृति गुम्ने डरले तनावमा त्यस्ता सन्देश पठाएको उनको स्पष्टीकरण छ।
धनगढीको मेडिकल व्यवसायदेखि अमेरिकी सेनासम्म
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका नरेश करिब १० वर्षअघिसम्म धनगढीमा मेडिकल प्रतिनिधि (एमआर) का रूपमा काम गर्थे। सेती प्रादेशिक अस्पताल आसपासका दुई मेडिकलमा उनको लगानीसमेत रहेको थियो।
व्यवसाय राम्रै चलिरहेका बेला नरेश २०७३ साउन १४ गते अमेरिका उडे। अमेरिकी सेनामा भर्ती हुने उद्देश्यसहित अमेरिका पुगेका उनी एक वर्षपछि २०७४ असारमा युएस आर्मीमा भर्ती भए। पक्राउ पर्नुअघि उनी अमेरिकी सेनाको सूचना प्रविधि विभागमा कार्यरत थिए।
सामाजिक सञ्जालमार्फत ममतासँग उनको चिनजान भएको थियो। चिनजान प्रेम सम्बन्धमा बदलियो र २०७७ मंसिर २५ गते उनीहरूले विवाह गरे। विवाहको आठ महिनापछि ममता पनि अमेरिका पुगिन्। करिब एक वर्षअघि उनीहरूले छोरीलाई जन्म दिएका थिए।
ममतालाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा कार्यस्थलमा देखिएको थियो। जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कल गरेकी ममताको त्यसपछि फोन र सामाजिक सञ्जालमा कुनै गतिविधि देखिएन। सहकर्मीहरूको आग्रहमा अगस्ट २ मा प्रहरीले उनीहरूको घर पुगेर सोधपुछ गर्दा नरेशले आफूहरू अलग हुन लागेको र ममता न्युयोर्क वा टेक्ससमा परिवारका सदस्यलाई भेट्न गएको हुन सक्ने बताएका थिए। तर, अमेरिकामा ममताका परिवारका सदस्य नरहेको प्रहरीले पछि पत्ता लगायो।
करिब तीन सातापछि प्रहरीले घरमा खानतलासी गरी नरेशलाई पक्राउ गर्यो। अभियोजन पक्षका अनुसार उनले जुलाई ३० तिर ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर फोहोरका झोलामा राखी फ्याँकेका थिए। ममताको शव भने अहिलेसम्म फेला परेको छैन। नरेशविरुद्ध प्रथम श्रेणीको हत्या, शवको अपमान र मृत शरीर लुकाएको आरोपमा मुद्दा चलिरहेको छ।















