
पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु
भूमि व्यवस्थापन शाखा स्थापना गरेर चालु आर्थिक वर्षदेखि नाप नक्सा, जग्गा लिखत पास र राजस्व सङ्कलनलगायतका सेवा सुरु गरिएको नगरप्रमुख तोयप्रसाद शर्माले बताए। यसअघि यी सेवाहरू बेलौरीस्थित भूमि प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएका थिए । अब ती सबै सेवा नगरपालिकाको भूमि व्यवस्थापन शाखाबाटै नियमित रूपमा उपलब्ध हुने नगरप्रमुख शर्माले बताए।
तर मुद्दा, रोक्कालगायतका काम भने बेलौरीबाटै हुने छ । सबै काम पुनर्वासबाट नै सञ्चालन गर्ने गरेर काम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका भूमि व्यवस्थापन शाखा प्रमुख नवराज सापकोटाले पहिलो चरणमा स–सिम कित्ताको कारोबारका लागि बायोमेट्रिक्स, औँठाछाप, फोटो, औँठा र सङ्केत नम्बर भएको तथा कित्ताकाट गर्न नपर्ने पूरा कित्ताको कारोबारसम्बन्धी कार्यहरू पालिकाबाटै सञ्चालन हुने बताए।
सापकोटाका अनुसार नापी अधिकृत नहुँदा नापीको काम भने केही दिनपछि सुरु गरिने छ । हाललाई नापीसम्बन्धीको काम भने बेलौरीबाट सञ्चालन हुने जनाइएको छ ।
सेवा विकेन्द्रीकरण भएसँगै अब पुनर्वासका ११ वटै वडाका सेवाग्राहीले भूमि प्रशासनका लागि बेलौरीस्थित भूमि प्रशासन कार्यालय धाउनुपर्ने छैन । नगरपालिकाबाटै भूमिसम्बन्धीको सेवा सुरु भएपछि बाहिरबाट लेखापढी व्यवसायीका कारण खर्चिलो महसुस गर्दै आएका सेवाग्राहीले अब भने बिचौलियामार्फत ती काम गराउन पाउने छैनन् । जसले न्यून शुल्कमै छिटोछरितो सेवा प्रवाह हुने अपेक्षा गरिएको छ ।
यहाँका अन्य स्थानीय तहले पनि भूमि तथा नापी कार्यालयमार्फत प्रदान हुँदै आएका सेवाहरू क्रमशः पालिकाबाटै सञ्चालन गर्ने गरी तयारी अगाडि बढाइएको जनाएका छन् । सरकारले गत वैशाख १० गतेदेखि लागु गरेको व्यवस्था अनुसार जग्गा दर्ता, नामसारी, नक्सा पास, सीमाङ्कन तथा अभिलेख अद्यावधिक जस्ता सेवा यहाँका स्थानीय तहबाटै उपलब्ध गराउन थालिएको हो















