
कृष्णपुरमा रहेको मेरो माइक्रोफाइनान्सद्वारा विद्यालयलाई खेलकुद सामग्री सहयोग
कैलाली-संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीमा एक लघुवित्तद्वारा विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेको छ ।
कञ्चनपुरको कृष्णपुरमा रहेको मेरोमाइक्रोफाइनान्सद्वारा कैलालीको गोदावरी नगरपालिका-११ मा रहेको श्रीराम आधारभूत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा संस्थाका प्रदेश कार्यालय बौनिया, कैलालीका प्रमुख सरोज पण्डित, अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख जयन्त भण्डारी, शाखा कार्यालय कृष्णपुरका शाखा प्रबन्धक प्रकाश मडै लगायतको उपस्थितिमा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा गोदावरी नगरपालिका–११ का वडा अध्यक्ष प्रेम सिंह बडैला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल बहादुर कामी, प्रधानाध्यापक कलावती शाह बडैला तथा स्थानीय बुद्धिजीवी, अभिभावक र शिक्षकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको खेलकुद सामग्रीले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
यस अवसरमा विद्यालय परिवारले शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको समग्र विकासमा पुर्याएको योगदानको कदर गर्दै मेरो माइक्रोफाइनान्सलाई सम्मान–पत्र प्रदान गरेको थियो।
मेरो माइक्रोफाइनान्सका देशभरका शाखाहरुबाट विभिन्न समयमा यस्ता सामाजिक कार्यहरु हुँदै आईरहेका छन् ।
















