
एन.एन.एस.डब्लु.ए कञ्चनपुरद्धारा दोदा नदी तटीय क्षेत्रमा वृक्षारोपण
पुनर्वास- कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १,२,५,९ र १० मा रहेका भकुण्डा, दशरथबस्ती, सिमरी, बिकासबस्ती र सिताबस्ती समुदायलाई असर पुर्याउने सिमरी खोला र दोदा नदी तटीय क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
मर्सिकोर नेपाल र एन.एन.एस.डब्लु.ए कञ्चनपुरको संयुक्त साझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन एमरेड परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा शनिबार करिब सात हजार बिरुवा वृक्षारोपण गरिएको एन.एन.एस.डब्लु.ए कञ्चनपुरका प्राविधिक अधिकृत पंकज तिवारीले बताए ।
यस अघि कुण्डा सब डिभिजन वन कार्यालय र पुनर्वास नगरपालिकाको सहकार्यमा सब डिभिजन वन कार्यालय बाट निःशुल्क प्राप्त विभिन्न प्रकारका करिब १४ हजार ५ सय बिरुवाहरू नदी तटिय क्षेत्रमा वृक्षारोपण गरिएको उनले बताए ।
पछिल्लो समय दोदा नदीले वडा नम्बर ९ मा पनि कटान तीव्र गर्दै गइरहेकोले कटानलाई रोक्न वृक्षारोपण गरिएको हो । शनिवार सो क्षेत्रमा सब डिभिजन बन कार्यलयमा उपलब्ध नभएका बिरुवाहरू कलमी बास, भेटिभर घाँस, बोटल ब्रुस, अम्रिसो लगायतका बिरुवा वृक्षारोपण गरिएको छ । पछिल्लो समय दोदा नदीले खेतीयोग्य जमीन तीव्र रुपमा कटानी गर्दै गइरहेको हुनाले सो कटानिलाई कम गर्नुको साथै भविष्यमा स्थानियलाई आर्थिक लाभ समेत होस भन्ने उद्देश्यले वृक्षारोपण गरिएको उनले बताए । खडेरी र डुबान दुवै ठाउँमा हुर्कन सक्ने विरुवाहरुलाई प्राथमिकतामा राखेर वृक्षारोपण गरिएको एन.एन.एस.डब्लु.ए कञ्चनपुरका प्राविधिक अधिकृत तिवारीको भनाई छ ।
वृक्षारोपण गरिएका बिरुवाबाट स्थानीयले पछि आर्थिक लाभ लिन सकिने जनाएको छ । जैविक तटबन्धले प्रकृतिलाई समेत संरक्षण गर्ने र यो सस्तो र भरपर्दो हुने जनाएको छ । यस्तै एन.एन.एस.डब्लु.ए कञ्चनपुर र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन एमरेड परियोजनाले नगरपालिकाको सहकार्यमा सो ठाउँमा पाँच सय मिटर जैविक तटबन्ध गरेको थियो ।
उक्त तटबन्ध निमार्णले अहिले किसानलाई राहत मिलेको बताएका छन् । तटबन्ध निमार्णले जमिन कटानी रोकिएको स्थानीयको भनाई छ । जैबिक तटबन्ध गरेको ठाउँ संगै अन्य ठाउँमा पनि अहिले एन.एन.एस.डब्लु.एको सहयोगमा वृक्षारोपण गरेकाले यसले आगामी दिनहरूमा अझ प्रभाकारी रूपमा कटानी रोक्नेमा आशावादी रहेको स्थानियले बताएका छन् ।