
गौरीफन्टा नाकामा भन्सार कडाइले नेपाल तर्फको बजारमा बढ्यो चहलपहल
धनगढी- भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ।
पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकामा पछिल्लो समय नेपाल सरकारले एक सयभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा नै किनमेल बढेको छ। यसरी नेपालतर्फको बजारमा चहलपहल बढ्नुका साथै व्यवसायमा पनि वृद्धि भएपछि नेपाली व्यवसायीहरू खुसी भएको बताएका छन्। उनीहरूले वर्षौँदेखि सुनसान रहने बजारमा पनि अहिले व्यापारिक गतिविधि बढ्न थालेको जानकारी गराएका हुन्।
धनगढीका उपभोक्ता कृष्णबहादुर चौधरीले घरमा छोरीको विवाहको तयारीस्वरुप तयारी कपडा किन्न सीमापारि बनगाउँ बजार पुगेर फर्किँदा सीमामा सास्ती खेप्नुपरेको गुनासो गरे। उनले भने, “सीमामा प्रहरी अधिकारीसँग विवाद भयो र ल्याइएका समानको आफूले भन्सार तिरेर लैजान बाध्य भएँ।” सीमापारिको बनगाउँ बजारबाट छोरीको विवाहमा चाहिने रु १२ हजार ४०० को तयारी लुगा भित्र्याउँदा भन्सार कार्यालयले सात हजार ९४५ रुपैयाँ कर लिएको उनले सुनाए। तर सीमा क्षेत्रमा प्रहरीको सम्झाइबुझाई भन्दा पनि दबाब बढी हुने गरेको उनको अनुभव छ।
विदेशबाट आयात हुने समानमा अधिकतम् खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गरिएपछि भन्सार कार्यालयको काम केही प्रभावित पनि भएको छ। कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सेनाले पेट्रोलिमय पदार्थमा ५० प्रतिशत छुट दिने सरकारको निर्णयले चैत महिनाको तुलनामा यो महिना पेट्रोलियममा मात्र ३० प्रतिशतले राजस्व सङ्कलन प्रभावित भएको बताए। उनले भने, “एमआरपी (अधिकतम खुद्रा मूल्य)को जाँच पासमा समस्या सृजना हुँदा पनि राजस्व प्रभावित हुन पुगेको छ।” एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिने व्यवस्थामा कडाइ गरिँदा धेरै नेपाली उपभोक्ता किनमेलका लागि सीमापारिका बजारसम्म जान रोकिएको उनी बताउछन्। उनले भने, “भन्सार शुल्क उठाउन कडाइ गरिएपछि सीमापारि जानेहरू हाल शून्यप्रायः छन्, धेरैजसो नेपाली उपभोक्ताहरु पर्ख र हेरको अवस्थामा बसिरहेको पाइन्छ। तर अहिलेका लागि भने उनीहरु नेपाली बजारमै किनमेल गरिरहेका छन्।”
भन्सारमा कडाइ गरिएपछि भारतको सीमावर्ती बजार बनगाउँमा चहलपहल घटेको छ। नेपाली उपभोक्तालाई लक्षित गरेर सञ्चालन गरिएको उक्त बजारमा किनमेल गर्नेमध्ये झण्डै ९० प्रतिशत उपभोक्ता यसअघिसम्म नेपाली थिए । बजारमा नेपाली मुद्रामा कारोबार पनि सहज रूपमा हुने गरेको छ। यसरी दिनहुँ मालबस्तुमा भन्सार महसुल लिने कार्य राम्रो भए पनि विवाह, व्रतबन्ध र कतिपय घरायसी प्रयोजनका लागि भित्र्याइने सामानहरूमा भन्सार महसुल लिने कुरा केही व्यावहारिक बनाउनुपर्ने स्थानीय नागरिकको सुझाव छ।
“व्यापारिक हिसाबले ल्याइने समानमा भन्सार शुल्क कडाइका साथ लिनुपछ”, तेजनारायण चौधरीले भने, “तर विवाह, व्रतबन्ध र घर खर्चका लागि ल्याइने समानमा भन्सार शुल्क लिने कुरा व्यावहारिक नभएकाले यसमा केही पुनर्विचार गर्नु जायज हुन्छ। यसो हुँदा हाम्रो वारिपारिको व्यापारिकमात्र नभएर अन्य सम्बन्धका साथै धेरै कुराहरूमा पनि सहज हुन जानेछ।”


























