
बेलौरीमा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण सम्पन्न
कञ्चनपुर– कंचनपुरको बेलौरी नगरपालिका वडा नं २मा रहेको लक्ष्मीपुर स्वास्थ्य चौकीमा आइतबार स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुरको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत प्रजनन स्वास्थ्य रूग्णता सेवा कार्यक्रम अन्तर्गत १ दिने अभिमुखिकरण आयोजना गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दीपेन्द्र सिंह रावलले जानकारी दिनुभयो।
स्वास्थ्य कार्यालय कञ्चनपुरका MNH फोकल पर्सन आरती पाण्डेयले प्रजनन स्वास्थ्यसँग सम्बन्धित विभिन्न जटिल समस्याबारे सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।MNH फोकल पर्सन पाण्डेय पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा निसन्तानपन जस्ता विषयमा विस्तृत जानकारी दिँदै समयमै पहिचान गर्न सके उपचार गर्न सकिने बताउनुभयो।
उहाँका अनुसार महिलाहरूले यस्ता संवेदनशील विषयमा लाज मान्ने प्रवृत्तिका कारण धेरैजसो समस्या ढिलो मात्र पहिचान हुने र उपचारमा पनि ढिलाइ हुने गरेको छ। त्यसैले सचेतना अभिवृद्धि गर्दै खुला रूपमा स्वास्थ्य सेवामा पहुँच बढाउन आवश्यक रहेको उहाँले जोड दिनुभयो।कार्यक्रमले प्रजनन स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्दै समुदायस्तरमै जनचेतना विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















प्रतिक्रियाहरु