
पुनर्वासमा प्रहरीकै संरक्षणमा वेश्यावृत्ति र जुवा , रकम असुलीमा ईन्सपेक्टरका दुई घुमुवा
पुनर्वास — कञ्चनपुरको पुनर्वास क्षेत्रमा वेश्यावृत्ति र जुवा जस्ता अवैध गतिविधि प्रहरीकै संरक्षणमा सञ्चालन भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीमाथि यस्ता गतिविधिलाई संरक्षण दिएको आरोप लागेको हो।
स्थानीय स्रोतका अनुसार पुनर्वासको डोकेबजार, आई.बी.आर.डी. बजार र बजार आसपास क्षेत्रका विभिन्न होटलहरूमा खुलेआम रूपमा वेश्यावृत्ति सञ्चालन हुँदै आएको छ। ती गतिविधिबाट प्रहरीलाई नियमित रूपमा रकम बुझाइने गरिएको दाबी गरिएको छ।
विश्व खोजसँगको कुराकानीमा केही होटल सञ्चालकहरूले प्रहरीसँग दोहोरो “सहयोगको सम्बन्ध” रहेको स्वीकार गरेका छन्, यद्यपि उनीहरूले प्रहरीलाई कति सहयोग गर्छन् भन्ने रकमको विवरण खुलाउन भने चाहेनन्।
-घुमुवा प्रहरीमार्फत मासिक असुली ?
प्रहरी निरीक्षक कार्कीले सादा पोशाकमा दुई जना “घुमुवा” परिचालन गरी होटलहरूबाट मासिक रूपमा रकम उठाउने गरेको आरोप छ। त्यस्तै, ६५ बिघामा रहको शिविर क्षेत्रमा दैनिक सञ्चालन हुने लाखौं रुपैयाँको खडखडे र र आई.बी.आर.डी. क्षेत्रका आसपास हुने तास जुवाबाट समेत असुली भइरहेको स्रोतको दाबी छ।
-के भन्छन् स्थानीय ?
स्थानीय बासिन्दाहरूका अनुसार प्रहरी निरीक्षक कार्की आएपछि पुनर्वास क्षेत्रमा जुवा र वेश्यावृत्ति नियन्त्रण हुनुको सट्टा झन् मौलाएको छ। “पहिलेभन्दा अहिले जुवा र वेश्यावृत्ति खुलेआम भइरहेको छ,” एक स्थानीयले भने।
– यस्तो छ प्रहरीको प्रतिक्रिया ?
यस विषयमा प्रहरी निरीक्षक कार्कीसँग कुरा गर्दा आफूमाथि लागेको आरोप अस्वीकार गर्दै यस्ता गतिविधिमा आफ्नो संरक्षण नभएको प्रतिक्रिया दिएका छन्।
उनले भने, “यस्ता गतिविधि रोक्न होटल सञ्चालकहरूलाई पहिले नै सचेत गराएको छु । सूचनाहरू सङ्कलनका लागि सादा पोशाकमा दुई प्रहरी खटाएको सत्य हो। तर यस्ता गलत गतिविधिको संरक्षणमा प्रहरीको कुनै भुमिका छैन।”
अवैध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरी नै यस्ता कार्यमा संलग्न भएको आरोपले पुनर्वास क्षेत्रका बासिन्दामा चिन्ता बढाएको छ। सो आरोप सत्य प्रमाणित भए सुरक्षा संयन्त्रमाथिको विश्वासमा समेत गम्भीर असर पार्ने देखिन्छ।
















vvq269