
गायक चक्रबमको प्रस्तुतिसँगै सक्कियो पुनर्वास महोत्सव
पुनर्वास- फागुन २५ गतेबाट जारी पुनर्वास महोत्सव बुधबार भव्यताका साथ सम्पन्न भएको छ।
महोत्सवको अन्तिम दिन चर्चित गायक चक्र बमको प्रस्तुतिले महोत्सवलाई अझै रोमान्चक बनाएको थियो।
गायक बमले बच्चादेखि वृद्धसम्म सबैलाई हँसाउँदै नचाएका थिए। उनको प्रस्तुतिमा राति अबेरसम्म दर्शकहरूको थामिनसक्नु भीड थियो।
महोत्सवमा अन्तिम दिनको स्टेज कार्यक्रमलाई गायिका तथा उद्घोषक हेमन्ता भट्टराई र उद्घोषक नविन धामीलाई जिम्मेवारी दिइएको थियो।
चक्र बम छोटो समयमै साङ्गीतिक क्षेत्रको उचाइमा पुगेका गायक हुन् । सुदूरपश्चिमेली गीतलाई आधुनिकतामा बदलेपछि सुदूरपश्चिम र मध्यपश्चिममा मात्र होइन, सिङ्गो नेपालीले उनका हरेक गित रुचाउने गरेका छन्।
“हाम्रो पुर्नवास, राम्रो पुर्नवास” भन्ने मूल नारासहित कञ्चनपुरको पुनर्वासमा उद्योग वाणिज्य संघको आयोजनामा पुर्नवास नगरपालिका-३ स्थित ६५ बिघा क्षेत्रमा महोत्सव आयोजना गरिएको थियो ।
दर्शकहरूको उल्लेखनीय सहभागिताले यस वर्षको महोत्सवलाई सफलतामा पुर्याएको र आगामी दिनमा सबैका रचनात्मक सल्लाह सुझावसँगै नयाँ ढङ्गबाट महोत्सवको आयोजना गर्ने पुनर्वास उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझीले जानकारी दिनुभयो।















