
आप्रवासनले बदलिदिएको जीवन : देउसरी बोहराको मजबुत उडान, १२ वर्षमै विवाह देखि महिला नेतृसम्म
कंचनपुर -डोटी जिल्लाको आदर्श गाउँपालिकामा BMZ / AWO International को आर्थिक सहयोगमा NEEDS Nepal द्वारा सुरक्षित श्रम आप्रवसन प्रवद्र्धन परियोजना सञ्चालनमा छ । डोटीको आदर्श गाउँपालिकामा यो परियोजना सुरु भएपछी के–के परिवर्तन भए त ? डोटीको आदर्श –२, कुचेडा पुगेर हामीले तयार गरेको देउसरी बोहराको मजबुत उडान, १२ वर्षमै विवाह देखि महिला नेतृसम्मको कथा ।
डोटीको आदर्श गाउँपालिका–२, कुचेडाकी देउसरी बोहरा आज आत्मविश्वासले भरिपूर्ण देखिनुहुन्छ । कहिल्यै पनि सार्वजनिक रूपमा बोल्न सकिनँ, आफ्नो नाम सही रूपमा भन्न पनि लजाएँ भनेर हिजोका दिन सम्झने उहाँ अहिले प्रगतिशील आप्रवासन महिला समूह की सक्रिय अध्यक्ष हुनुहुन्छ ।
देउसरीको जीवनको यात्रा सजिलो थिएन । १२ वर्षमै विवाह, घर–गृहस्थीको जिम्मेवारी, अध्ययन गर्न नपाएको पीडा यी सबै बोकेर जीवन चलेको थियो । यति सानै उमेरमा जिम्मेवारीका पहाड आए पनि उहाँ भत्किनु भएन। आज ३८ वर्ष टेक्दा टेक्दै आफूभित्र भएको परिवर्तनलाई उहाँ आफैं गर्वका साथ सुनाउनुहुन्छ ।
उहाँका श्रीमान १८ वर्ष देखि भारतको केरलामा मजदुरी गर्दै हुनुहुन्छ । दुई छोरा, एक छोरीसहित पाँच जनाको परिवार श्रीमानले पठाउने पैसामै चलेको छ। तर आज जस्तो सहज कहाँ थियो त ? देवसरी भन्छिन्,
“हामी चिठी पठाउने जमानाका मानिस, पैसा आउँछ कि आउँदैन थाहा नहुने । कसैका हात पठाएको पैसा महिनौँ लाग्थ्यो । आपत–विपदमा त ऋण गरेरै घर चल्थ्यो ।”
जहाँ पानीकै चरम अभाव, त्यहाँ खेतीपाती त परैको कुरा, श्रीमान विदेश नगए भोकै बस्नुपर्ने अवस्था, यही कठोर वास्तविकता थियो उहाँको ।
तर समयले धेरै कुरा बदलिदियोः गाउँमा बैंक खुले, आइएमइ सेन्टर आए, धेरैको हातमा मोबाइल पुगे । मोबाइल बैंकिङले विदेशबाट पैसा लिन सजिलो बनायो । “अब त खातामा पैसा आयो कि म ढुक्क हुन्छु । परे तुरुन्त बैंक पुग्न मिल्छ,” देवसरीको आवाजमा एक किसिमको मिठास झल्किन्थ्यो ।
पहिलोपटक पैसा झिक्न बैंक जाँदा आफ्नो त भुइँमा खुट्टै थिएन, मनमा डर, आफ्नै हातले पैसा समात्न पाउँदाको खुसी, अनि कसरी चेक भर्छन् भन्ने समेत थाहा थिएन, उहाँ हाँस्दै सुनाउनुहुन्छ । हातमा पैसा पाउँदा सबै खर्च भइहाल्थ्यो तर बैंकमा आउँदा आवश्यकता अनुसार मात्रै निकाल्छु ।
देउसराले आफ्नो जीवनमा आएको परिवर्तनको ठूलो श्रेय BMZ / AWO International को आर्थिक सहयोगमा NEEDS Nepal ले सञ्चालन गरेको सुरक्षित श्रम आप्रवासन प्रवद्र्धन परियोजनालाई दिनुहुन्छ । परियोजनाको प्रशिक्षण, सिकाइ र साथले उहाँ बोल्न नसक्ने महिलाबाट समूह चलाउन सक्ने नेतृको भूमिकासम्म आइपुग्नु भएको छ । यी सबै कुराहरू सिकाउन बैंकमा खाता खोल्छन् भन्ने समेत थाहा नभएको देउसरीलाई अहिले बैंकिङ सुरक्षा, बैंकमा पैसा पठाउँदा हुने फाइदा, रेमिटेन्स लगायत सुरक्षित आप्रवशनको सबै जानकारी छ ।
तर परिवारकै कुरामा फर्किँदा उहाँको आँखामा हल्का भावुकता झल्किन्छ । हामीले सोध्यौँ, “श्रीमान १८ वर्षदेखि भारतमै, उहाँलाई फर्केर यहीँ मिलेर काम गरौँ भनेर भन्नु हुँदैन ?”
देवसरीको आवाज ढल्किन्छ, “कति सोचाइहरू मनमै हुन्छन्, तर सबै कुरा आफ्नै हातमा कहाँ हुन्छ र ? यहाँ पानी छैन, खेतीपाती हुँदैन, भारत नगए भोकै परिन्छ ।” यस्तै संघर्ष, यस्तै बाध्यता तर बीचमा चम्किँदै गएको परिवर्तनको उज्यालो । देवसरी आज गाउँका महिलाहरूका लागि प्रेरणा बन्नुभएको छ । कठिनाइका पहाडबीच पनि आफ्नो क्षमता भेटेकी एक साधारण महिलाको असाधारण यात्रा हो – देवसरीको कथा !















