
कलिलो उमेरमै सामाजिक कार्यमा अग्रसर देखिएका अभियन्ता खगेन्द्र बिष्ट ?
डोटी — सामान्य गाउँको वातावरणमा जन्मिएका, सामान्य परिवारमा हुर्किएका, तर असाधारण सोच बोकेका युवा हुन् खगेन्द्र बिष्ट। वि.सं. २०५९ पुस २१ गते डोटी जिल्लाको सायल गाउँपालिका–३, बेटारामा बुवा बहादुरे बिष्ट र आमा सुना बिष्टको कोखबाट जन्मिएका खगेन्द्र सानैदेखि सहयोगी स्वभावका थिए।
बाल्यकालदेखि नै अरूको दुःखमा चासो दिने, साथीभाइलाई सहयोग गर्ने, गाउँमा हुने साना काममा सक्रियता देखाउने खगेन्द्रलाई अहिले गाउँ–घरका मानिसहरूले “युवा अभियान्ता” भनेर सम्बोधन गर्न थालेका छन्।
हाल उनी परिवारसहित कञ्चनपुरको पुनर्वास–१०, भिमबस्तीमा बस्छन्। जीविकोपार्जनका लागि भारतको मुम्बईमा मजदुरी गर्ने उनी आफ्नै पसिनाको कमाइ समाजसेवामा खर्च गर्छन्। धेरैलाई लाग्छ, मजदुरी गरेर बाँच्न सक्ने मानिसले अरूलाई के सहयोग गर्ला र? तर खगेन्द्रले उल्टै प्रमाणित गरेका छन् — सहयोग गर्ने मन भए पैसा होइन, मानवीयता नै ठूलो हुन्छ।
समाजसेवाको यात्रामा उनले पाँचवटा ठूला अभियान सञ्चालन गरिसकेका छन्। पहिलोपटक, डोटीका १४ महिनाका बालक इसान थापा आगलागीमा परेर जलेर घाइते भएपछि उनले उपचारका लागि सहयोग अभियान सुरु गरे। यसबाट प्रेरणा पाएर उनले दोस्रो अभियान सायल–२ का चक्र धामीको मृगौला उपचारका लागि चलाए।
त्यसपछि पुनर्वास–१० की गीता देवी ठकुल्ला क्यान्सर पीडित भई उपचार अभावमा जीवन–मरणको दोसाँधमा थिइन्। खगेन्द्रको सक्रियताले सहयोग जुट्यो, र उपचार सम्भव भयो। त्यसैगरी जंगली हात्तीको आक्रमणमा परी घाइते भएका परी बिष्टलाई पनि उनले उपचारका लागि सहयोग अभियानमार्फत साथ दिए। पछिल्लो समय क्यान्सर पीडित चन्द्रा कुमारी खाती (बयाडी) को उपचारका लागी सहयोग अभियानमार्फत साथ दिए उनका लागि अर्को चुनौतीपूर्ण तर सफल सामाजिक यात्रा बन्यो।
उनी भन्छन्, “अभियान सुरु गर्नु अघि म सधैं पीडितको वास्तविक अवस्था बुझ्छु। सहयोग उठेपछि त्यो सहयोग साँच्चिकै पीडितसम्म पुग्नुपर्छ भन्ने मेरो विश्वास हो।”
भारतमा मजदुरी गरेर बिहानदेखि बेलुकीसम्म पसिना बगाउने खगेन्द्रले थोरै मात्र आफूसँग राख्छन्, बाँकी रकम दिनदुःखीका लागि खर्च गर्छन्। उनको यही विशेषताले गर्दा धेरैले उनलाई प्रेरणाको स्रोतका रूपमा लिन थालेका छन्। गाउँ–घरका साधारण मानिसहरूले समेत उनीप्रति विश्वास गर्दै सहयोगका लागि फोन र सन्देश पठाउने गरेका छन्।
सामान्य परिवारमा जन्मिए पनि ठूलो मन भएका खगेन्द्र अहिले हजारौं युवाका लागि उदाहरण बनेका छन्। अरूको पीडामा हातेमालो गरेर मात्र जीवनको अर्थ हुन्छ भन्ने सोचले उनलाई अघि बढाइरहेको छ।
डोटीको धरतीमा जन्मिएर पुनर्वासमा हुर्किएका, भारतमा पसिना बगाउँदै समाजसेवा गर्ने खगेन्द्र बिष्टलाई अब देशभरका समाजसेवामुखी युवाले आदर्शको रूपमा लिइरहेका छन्।
उनको जीवनकथा यस कुराको प्रमाण हो—
धेरैसँग सम्पत्ति हुँदाहुँदै पनि समाजका लागि केही नगर्नेहरू छन्। तर साधारण जीवन बाँच्दै पनि असाधारण काम गर्नेहरू नै वास्तविक हिरो हुन्।”















