Above Article Ad
  • विश्व खोजका कार्यकारी सम्पादक जोशीको नेपालको सङ्घर्ष र विदेशीनुको वास्तविकता

    Above Article Content Ad
  • कञ्चनपुर –भित्र-भित्रै थरथराइरहेको मन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७१ वर्षीया आमाका काँपिरहेका हात, आँखामा ओभाएको पानीलाई सम्हाल्दै विदेश (रोमानिया) यात्रामा लागेका हरिलाल जोशीको अनुहारमा देखिएको दृढता—यी सबका माझ एक पत्रकार आफ्नो भूमिसँग भिजेको आत्मालाई देशको आकाशबाट बिदा दिँदै थिए। त्यो बिदाइले एउटा परिवार होइन, सिङ्गो सुदूरपश्चिमका जनताको चेतनाको स्पन्दनलाई भक्कानिन बनायो।

    हरिलाल जोशी—नाम मात्रै होइन, सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका सीमावर्ती पत्रकारिताको एक नवीन इतिहास हो। उनले झोला बोकेर सुरु गरेको पत्रकारिता यात्रा, अखबार प्रकाशन, सञ्चार संस्थानको स्थापनादेखि सत्यका पक्षमा अविचल संघर्षको उदाहरण बनेको छ। आज त्यो इतिहास नयाँ अध्यायतर्फ मोडिएको छ —एक अठोटका साथ ।

    सुरुमा पत्रिका वितरण गर्ने ‘जोशी’

    Article inline ad #1
  • वि.स २०६८ देश संघीयताको बहसमा होमिएको थियो, राजधानी शान्ति सम्झौतामा व्यस्त थियो। त्यही बेला सुदूरपश्चिमको एक सामान्य युवा—जोशीले—पत्रिका वितरण गर्ने कामबाट आफ्नो पत्रकारिता यात्रा सुरु गरे।

    Article inline ad #2

    धनगढीबाट प्रकाशनमा आउने श्रम–सृजना दैनिक पत्रिकाको बन्डल बोकेर गाउँबस्ती हिँड्ने उनको सुरुवाती संघर्ष, आज एउटा जीवित गाथा बनेको छ।उनका शब्दमा—“पत्रिका पुर्‍याउनु त थियो, तर त्यसमा म सूचना पुर्‍याइरहेको अनुभूति गर्थें।”
    त्यो झोलामा त केवल कागज थिएनन्, चेतना थिए।

    लामा सँगको सहयात्रा: साहस र सिद्धान्तको बीजारोपण

    उनको यो यात्रा एक्लो थिएन। कञ्चनपुरकै साहित्यिक, पत्रकारिता र सामाजिक क्षेत्रका मूर्धन्य व्यक्तित्व रन्जित लामा सँगको सम्बन्ध, जोशीको विचार निर्माणको मेरुदण्ड बन्न पुग्यो। लामाको प्रेरणाले जोशीमा सत्य बोलीरहने साहस निर्माण गर्‍यो, र कलम चलाउने हिम्मत दियो।

    “कलमको नोक तिखार्न सक्ने बनाएको गुरु” भनेर उनले लामालाई सँधै सम्मान गरिरहे।रन्जित लामाले भनेका थिए—“पत्रकारिता भनेको डर होइन, जिम्मेवारी हो। सत्य बोल्दा तिम्रो विरोध हुनेछ, तर तिमी सत्यबाट पछि नहट ल।”यही शब्द जोशीको जीवनसूत्र बन्यो।

    हेल्लो पुनर्वासबाट विश्व खोज सम्मको यात्रा

    २०७१ सालमा हेल्लो पुनर्वास साप्ताहिक को प्रकाशन सुरु गर्नु सानो प्रयास थिएन। सीमित स्रोत, सीमित विज्ञापन, तर असीम आत्मबल। भाइ–दाजु सल्लाहमा अगाडि बढेको त्यो साप्ताहिक, केही समयमै पुनर्वास क्षेत्रको प्रभावशाली आवाज बन्न पुग्यो। यहीँबाट उनले सीप, साहस र सम्बन्ध विकास गर्दै गइरहे।

    विभिन्न उतारचढावका बाबजुद जाेशीले त्यसपछि २०७९ पौषमा आफ्नै लगानीमा सुरु गरे विश्व खोज पत्रिका,यथार्थ, अनुसन्धान र स्वतन्त्र आवाजको एउटा मिडिया गृह।

    उनले एकैपटक छापामा पनि, डिजिटलमा पनि प्रकाशन सुरु गरे। आर्थिक अभावको भुमरीमा एक पत्रकारले राष्ट्रिय स्तरको सपना साकार पार्न सक्नु, सुदूरपश्चिमका लागि गौरवको विषय थियो।उनले सधैँ भन्ने गरेका छन्—“मैले मिडियालाई केवल आफ्ना लागि चलाएको होइन, समाजका आवाजविहीनका लागि चलाएको हुँ।”

    सत्य लेख्दा सत्ताले हेप्ने, समाज मौन बस्ने

    सधैं तथ्यका आधारमा सत्य लेख्ने जोशीको शैलीले धेरैको मन जित्यो। तर, धेरै सत्ताशक्तिहरूको चित्त पनि दुखायो। कहिले स्थानीय तहका असहज टिका टिप्पणी, कहिले सरकारी विज्ञापन रोक्का, कहिले मिडियामाथि आक्रमणको चेतावनी । उनले सधैँ आफूमाथि मात्र होइन, आफ्नो कर्मचारी र मिडियाको अस्तित्वका लागि पनि संघर्ष गरे।

    “पत्रकारिता आज उद्यम होइन, युद्ध हो। सत्य बोल्नेलाई दबाउने प्रवृत्ति सुदूरपश्चिममा झन् बढ्दो छ,” उनी भन्थे।
    उनले राजनीति, शक्ति, पैसा र सम्बन्धको जालबीच पनि स्वतन्त्र पत्रकारिताको झण्डा समातिरहे।

    मिडिया या आमा? यो प्रश्नको उत्तर आजसम्म छट्पटीमै

    उनको निर्णय—देश छाड्ने—एक दिनको परिणाम थिएन। महिनौँको रात निद्राविना बिते। घरमा आमा, साथमा जीवनको सपना बनेको मिडिया। उनी आफैँ भन्छन्—“मलाई लागेको थियो—बुढी आमालाई पीडा दिएर विदेश जानुभन्दा म मिडिया बन्द गरूँ। तर सायद मनले मिडिया छोड्न सकिन।”

    त्यही माया, त्यही सपना, त्यही अठोटले उनलाई भावनात्मक रूपले भत्काए पनि, निर्णयमा दृढ बनायो। जब आमाले कराउँदै अँगालो हाल्नुभयो, त्यसबेला उनले भित्रभित्रै मिडियासँग एकान्तमा भनेका थिए—“तँलाई जोगाउन म देश छाड्दैछु।”

    पत्रकार जाेशी विदेशमा, कलम स्वदेशमा

    उनले घोषणा गरिसकेका छन्—“म जहाँ भए पनि देशका लागि कलम चलाउनेछु। भ्रष्टाचार, विकृति र सत्ता शक्तिका विरुद्ध आवाज बुलन्द गर्नेछु।”
    विदेशमा केही समय श्रम गरेर आर्थिक पाटो सम्हाल्ने, अनि मिडियालाई अझ जीवन्त बनाउने लक्ष्य उनको छ।

    जाेशीले लेखेका छन् —“देशमा बसेर मिडिया मर्नु भन्दा विदेश बसेर त्यसलाई बाँधेर राख्न सकिन भने के पत्रकार!”यो केवल विचार होइन, पत्रकारिताप्रतिको एउटा मर्म हो।

    कलम अझ उठ्नेछ, अझै गहिरो लेख्नेछ

    हरिलाल जोशीको बिदाइ एक अस्थायी बिदाइ हो। उनी फर्कनेछन्—झन अनुभवी भएर, झन निडर भएर। अझ अनुसन्धानात्मक रिपोर्टिङ गर्नेछन्। अझ असमानताको विरुद्ध आवाज उठाउनेछन्। अझ सशक्त विश्व खोज निर्माण गर्नेछन्।

    एक्लो यात्रा, सामूहिक सपना

    जोशीले विश्व खोज मिडियालाई “मेरो होइन, हाम्रो” भनेर परिभाषित गरेका छन्। उनी भन्छन्—“यो संस्था म जोगाउने प्रयासमा छु, तर यो सबैको साथले बाँच्नेछ।”उनको संघर्ष आज उदाहरण बनेको छ—सुदूरपश्चिमको एउटा गाउँको पत्रकारले राष्ट्रिय मञ्चको ज्यान बनाएको छ।उनको बिदाइ देशका लागि चेतावनी हो—साँचो पत्रकारिता जोगाउन अब समर्थन, स्रोत र समझदारी चाहिन्छ।

    जय देश। जय पत्रकारिता ।

    साभार रेडियो सुदूरञ्चार

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6