Above Article Ad
  • प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए

    Above Article Content Ad
  • कञ्चनपुर-पाँच महिनाअघि बजारमा आएको ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ, तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत निकै चर्चित छ।

    सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको स्वर रहेको यो कुमाउनी प्याटर्नको गीतले अहिले देउडा पारखीहरूको मन जितिरहेको छ। यो गीत बजारमा आउँदा सामाजिक सञ्जालमा भाइरल भएको थियो। युट्युबमा मात्रै यस गीतले ५४ लाख भ्युज पाइसकेको औजीले बताएका छन्।

    Article inline ad #1
  • बेलाबखत लोकप्रिय देउडा गीतहरू बजारमा ल्याएर युट्युब र टिकटक जस्ता मञ्चहरूमा बजार तताउने औजीको परिचय देउडा गायकमा मात्रै सीमित छैन। उनी नेपाल प्रहरी सङ्गठनका प्रहरी सहायक हबल्दार हुन्। प्रहरी सेवामा १७ वर्ष बिताइसकेका औजीले आफ्नो प्रहरीको जिम्मेवारीसँगै साङ्गीतिक यात्रालाई पनि निरन्तरता दिइरहेका छन्। बैतडीको पञ्चेश्वरी गाउँपालिका–६ बिजुलमा जन्मिएका औजीले सन् २००६ देखि सुदूरपश्चिमको देउडा गाउन थालेका हुन्। स्कुल पढ्दादेखि नै देउडा गायनमा रुचि भएकाले उनले विद्यालयहरूको जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम स्थान समेत हासिल गरेका थिए।

    Article inline ad #2

    हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत औजीले गाउँबाट एसएलसी पास गरेर सन् २००९ मा प्रहरी जवानमा भर्ना हुनुअघि नै दुईवटा गीत बजारमा ल्याइसकेका थिए। उनले आफ्नो दैनिकीबारे भने, ‘ड्युटी सकेर ब्यारेक पस्यो, फुर्सद भयो कि गायन र नयाँ सृजनामा समय खर्चिर्ने बानी भइसकेको छ। ’ सन् २००६ मा किशोरावस्थामै बैतडीबाट महेन्द्रनगर झरेर उनले ‘घर छुट्यो, घरबार टुट्यो देउडा’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए। सो पहिलो गीत तत्कालीन समयमा सुदूरपश्चिमका एफएम रेडियोहरूमा निकै बज्ने गरेको र अहिले पनि दर्शकस्रोताले उत्तिकै मन पराउने उनको अनुभव छ।

    पछिल्लो समय महेन्द्रनगरका कलाकार मासुम विष्टको लय र शब्द सङ्कलन तथा गायक औजीको स्वर रहेको ‘ए रुपा’ बोलको गीत सुदूरपश्चिममा मात्र नभएर भारतको सीमावर्ती कुमाउ, पिथौरागढ र गडवाल क्षेत्रमा समेत चर्चित छ। हाल भीमदत्त नगरपालिका–५ सुकासाल बस्दै आएका औजीले सुदूरपश्चिममा एक सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन्। उनका दर्जनभन्दा बढी गीतहरू अहिले पनि सुदूरपश्चिममा निकै लोकप्रिय छन्।

    उनले लागुऔषधसम्बन्धी सचेतना तथा प्रहरीका सचेतनामूलक गीतहरू पनि बजारमा ल्याएका छन्। तीन वर्षअघि उनले ‘प्रहरीलाई खबर गरौँ, हरघडी आउँछ प्रहरी, सेवा गर्न आउँछ प्रहरी’ बोलको गीत सार्वजनिक गरेका थिए। प्रहरीले आयोजना गर्ने सचेतनामूलक कार्यक्रमहरूमा उनी आफैँले यस्ता गीतहरू प्रस्तुत गर्ने गरेका छन्।

    ड्युटीपछिको आफ्नो गायन यात्रालाई प्रहरी सङ्गठन र घरपरिवारले उत्तिकै साथ दिएकाले आफू हर्षित रहेको उनले बताए। सुदूरपश्चिमका अर्का परिचित देउडा गायक महेशकुमार औजी नातामा दाई पर्ने र उनी नै आफ्नो साङ्गीतिक क्षेत्रको प्रेरणाको स्रोत रहेको शेरीरामले बताए। सुदूरका नौवटै जिल्लाको कला, संस्कृति र पर्यटकीय गन्तव्य समेटिएको उनको देउडा गीत ‘मेरी माया शीतलु छायाँ’ पनि निकै लोकप्रिय छ। प्रहरीको ड्युटी सकेर फुर्सदको समय गीतसङ्गीतमा बिताउने उनी बिदाका बेला सुदूरपश्चिममा हुने मेला महोत्सवहरूमा स्टेज प्रस्तुति दिन पुग्छन्।

    उनले आफ्नो प्राथमिकता स्पष्ट पार्दै भने, ‘ड्युटी मेरो पहिलो प्राथमिकता हो। गीतसङ्गीतलाई पनि निरन्तरता दिने योजनासहित साङ्गीतिक क्षेत्रलाई सँगै लगेको छु।’ देउडा गीतहरू स्रोता र दर्शकले निकै मन पराएका कारण लगानीको प्रतिफल राम्रै आइरहेको र भारतीय सीमावर्ती क्षेत्रबाट समेत साङ्गीतिक प्रस्तुतिका लागि बोलावट हुने गरेको भए पनि समय मिलेमा मात्र जाने गरेको उनले जानकारी दिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6