Above Article Ad
  • रातोतालका २२ बाढीपीडित परिवारका लागि ‘सेफ हाउस’, बर्सेनि दोहोरिने त्रासबाट राहतको अपेक्षा

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका–५, सिमरीस्थित रातोताल क्षेत्रका बाढीपीडित परिवारका लागि निर्माण गरिएको सुरक्षित आश्रयस्थल (सेफ हाउस) को विधिवत् उद्घाटन गरिएको छ। बर्सेनि बाढीको उच्च जोखिममा पर्दै आएका २२ घरपरिवारलाई लक्षित गरी उक्त भवन निर्माण गरिएको हो।

    पुनर्वास नगरपालिका र प्राक्टिकल एक्सनको आर्थिक तथा प्राविधिक सहयोग तथा पेसवान कञ्चनपुरद्वारा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम (सीआरपी)’ अन्तर्गत लागत साझेदारीमा ६२ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो।

    Article inline ad #1
  • पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाको अध्यक्षता तथा नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भवन समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। विगतमा बाढीका बेला त्रासपूर्ण जीवन बिताउन बाध्य स्थानीयवासी अब विपद्को समयमा यस सुरक्षित आश्रयस्थलमा सुरक्षित बस्न सक्ने भएका छन्।

    Article inline ad #2

    भवन निर्माणका लागि रातोतालका स्थानीयवासी सीतामराम खड्काले आफ्नो स्वामित्वको एक कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन्। समाजलाई विपद्बाट जोगाउने उद्देश्यले जग्गा दान गर्न पाउँदा आफूलाई गौरव महसुस भएको उनले बताए।

    कार्यक्रममा नगर प्रमुख तोयप्रसाद शर्माले निर्वाचित भएलगत्तै रातोताल क्षेत्रका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको बाढीको समस्या नजिकबाट नियालेको स्मरण गर्दै सुरक्षित आश्रयस्थल निर्माण गर्ने प्रतिबद्धता पूरा भएको बताए। उनले भने, “यो भवनको संरक्षण, सञ्चालन र व्यवस्थापनमा समुदायको पूर्ण स्वामित्व र सक्रिय सहभागिता आवश्यक छ। निर्माणका क्रममा देखिएका कमीकमजोरी सुधार गर्दै आगामी दिनमा पनि नगरपालिका निरन्तर समुदायसँग रहनेछ।”

    नगर उपप्रमुख भुलियाकुमारी रानाले भवनको संरक्षण र उचित व्यवस्थापन स्थानीय समुदायबाटै हुनुपर्नेमा जोड दिइन्। उनले बाढीका बेला मानवीय क्षतिबाट जोगिन सुरक्षित स्थानमा सर्नुपर्दा घरमा छाडिएका पशुचौपाया चोरी हुने समस्या समेत स्थानीयले भोग्दै आएको उल्लेख गर्दै अब सेफ हाउस निर्माणसँगै त्यस्तो बाध्यता हट्ने विश्वास व्यक्त गरिन्।

    प्राक्टिकल एक्सनका प्रतिनिधि रमेश गौतमले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् व्यवस्थापनका लागि यस्ता सुरक्षित संरचनाहरू प्रभावकारी हुने बताए। पेसवान कञ्चनपुरका विवेक गौतमले कार्यक्रमको उद्देश्य तथा यसको कार्यान्वयनमा समुदायको सक्रिय सहभागिताबारे प्रकाश पारे।

    वडाध्यक्ष पदमबहादुर रोकायाले बाढी प्रभावित बस्तीका नागरिकका लागि सुरक्षित आश्रयस्थल निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गरे। उनले ६२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सेफ हाउस समुदायलाई हस्तान्तरण गर्न पाउँदा वडा तथा स्थानीयवासी उत्साहित भएको बताए।

    कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय समाजसेवी तथा रातोतालका बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। सुरक्षित आश्रयस्थल निर्माणसँगै रातोतालका बासिन्दाले बर्सेनि भोग्दै आएको बाढीको त्रासबाट राहत पाउने र विपद्का बेला सुरक्षित आश्रयको सुनिश्चितता हुने विश्वास गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6