
कंचनपुरको पुनर्वासमा नेपाल-भारत मैत्री संघद्वारा झुल वितरण
पुनर्वास – देशभर गर्मी बढेसँगै लामखुट्टे लगायतका विषालु जीवहरूबाट सुरक्षित रहन कञ्चनपुरको पुनर्वासमा झुल वितरण गरिएको छ।
मङ्गलबार एक भव्य कार्यक्रमका बीच नेपाल-भारतमैत्री संघद्वारा ५० थान झुल वितरण गरिएको हो।
नेपाल-भारत मैत्री संघ उपशाखा पुनर्वासका अध्यक्ष विश्वनाथ बिष्टको सभापतित्व तथा नेपाल-भारत मैत्री संघका उपाध्यक्ष हरिशंकर ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल-भारत मैत्री संघका केन्द्रीय सदस्य प्रदीप कुमार बैध हुनुहुन्थ्यो।
प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै नेपाल भारत संघका उपाध्यक्ष हरिशंकर ठाकुरले नेपाल र भारतमा रहेका छात्र छात्रालाई डाक्टर इन्जिनियर पढ्ने बिद्यार्थीहरुका लागि सहज व्यवस्था मिलाउदै आईरहेको बताउनु भयो ।
उहाँले समाजमा आईरहने हरेक समस्यामा संघले सहजीकरण गर्दै आईरहेको र अहिले हामीले देशभरि १० हजार झुल वितरण गरेको जानकारी दिनुभयो ।
झुल अझै कम परेको पुनर्वासमा आवश्यकता रहेको सिलाई कटाइका कार्यक्रम पुनर्वासमा सञ्चालन गरिने बताउनुभयो।
त्यस्तै, नेपाल-भारत मैत्री संघ उपशाखाका अध्यक्ष विश्वनाथ बिष्टले नयाँ घरलाई बसोबास नगरेपछि घरको अवस्था बिग्रिन जान्छ भन्ने उदाहरण दिँदै संस्थालाई पनि हामीले अगाडि कसरी बढाउने भन्ने विषयमा हामी नै सक्रिय हुनुपर्ने बताउनुभयो ।
संघबाट समय समयमा विभिन्न कार्यक्रम आयोजना गर्दै आईरहेको र निकट भविष्यमै सिलाई कटाई तालिम पनि सञ्चालनमा ल्याउने तयारी भईरहेको उहाँको भनाई थियो ।
पुनर्वास नगरपालिका वडा नं. ६ स्थित उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित सो कार्यक्रमको सञ्चालन नेपाल-भारत मैत्री संघ उपशाखा पुनर्वासका सचिव नवीन तिमिल्सनाले गर्नुभएको थियोे ।















