
बैतडीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु,४ जना घाइते
बैतडी – बैतडीमा दुई वटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउदै गरेको से ५ प ४७१७ को मोटरसाइकलका चालक सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
गम्भीर घाइते भएका लुहारलाई उपचारको लागि नजिकैको दउलेक अस्पतालमा लगिएकोमा पौने ४ बजेमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । शुक्रबार दिउँसोको साढे १ बजेको समयमा जिल्लाको श्रीभावरदेखि पुर्चौडीतर्फ जाँदै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउँदै गरेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ को मोटरसाइकल ढोल्यामोड पुर्चाैडी सडकखण्ड अन्तरगत पर्ने सुर्नया गाउँपालिका–८ ढोल्यामोडमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी दुवै मोटरसाइकलका चालकसहित पाँच जना घाइते भएका थिए । गम्भिर घाइते भएका लुहारको मृत्यु भएको छ । घाइते हुनेमा पुर्चाैडीबाट ढोल्यामोड तर्फ आइरहेको मोटरसाकइकलको पछाडी सवार पुर्चाैडी नगरपालिका–५ हिक्मत कुवँर, श्रीभावरदेखि पुर्चाैडीतर्फ गइरहेको मोटरसाइकलमा सवार सिगास गाउँपालिका–९का ३४ वर्षीय जय बहादुर चन्द र सोही मोटरसाइकलमा सवार सिगास गाउँपालिका– ९ का २६ वर्षीय केशव बहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।















