
पुनर्वासमा अष्टोत्तरशत (१०८) श्रीमद्भागवत सम्पुट पारायण “महाअनुष्ठान” हुने
कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–८, क–गाउँ स्थित श्रीनिवास दिव्यधाममा “राष्ट्रशान्ति एवं लोककल्याण सहित भगवद्युखोल्लासार्थ” अष्टोत्तरशत (१०८) श्रीमद्भागवत सम्पुट पारायण महाअनुष्ठान आयोजना हुने भएको छ ।
श्रीनिवास दिव्यधामका संरक्षक अनन्त विभूषित श्रीस्वामी गोविन्द आचार्यको संकल्पमा यही माघ २३ गतेदेखि फागुन १६ गतेसम्म अष्टोत्तरशत (१०८) श्रीमद्भागवत सम्पुट पारायण महाअनुष्ठान सञ्चालन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।
पत्रकार सम्मेलनमा संरक्षक अनन्त विभूषित श्रीस्वामी गोविन्द आचार्यले महाअनुष्ठानमा भारत–नेपालका प्रख्यात वैदिक आचार्यहरूको विशिष्ट सान्निध्य रहने बताउनुभएको थियो।
सो अनुष्ठानको प्रमुख सान्निध्यमा श्री श्री श्री त्रिदण्डी चिन्न श्रीमन्नारायण रामानुज जीयर स्वामीजी रहनुहुनेछ । भने, विशेष रूपमा श्रीमद्वेदमार्गप्रतिष्ठापनाचार्य,उभयवेदान्तप्रवर्तकाचार्य, श्रीमत्परमहंसपरिव्राजकाचार्य, अनन्तश्रीविभूषित श्री श्री श्री त्रिदण्डी शठकोप रामानुज जीयर स्वामीजी, यज्ञाचार्य श्रीमद्वेदमार्गप्रतिष्ठापनाचार्य, उभयवेदान्तप्रवर्तकाचार्य, अनन्तश्रीविभूषित वंगीपुरं नम्बी मठ पीठाधीश्वर श्री रामप्रिय भट्टाचार्य स्वामीजी
त्यस्तै,कार्यक्रमका प्रार्थीका रूपमा
वाल्मीकिस्वरुप सन्तशिरोमणि अनन्तश्रीविभूषित श्रीबालकृष्णमाचार्य स्वामीजी (अयोध्या धाम) र
सर्वशास्त्रविशारद धर्मरत्न साधुभूषण श्रीजगन्नाथाचार्य स्वामीजी (श्रीधाम, वृन्दावन) रहनुहुनेछ।
महाअनुष्ठानमा दैनिक श्रीमद्भागवत पारायण, वैदिक मन्त्रोच्चारण, प्रवचन, भजन–कीर्तन तथा विविध धार्मिक गतिविधिहरूसमेत आयोजना गरिने बताइएको छ। आयोजक समितिका अनुसार कार्यक्रमले स्थानीय क्षेत्रको धार्मिक, सांस्कृतिक र सामाजिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
यसअघि विभिन्न धार्मिक कार्यक्रमहरू गरिसक्नुभएका अनन्त विभूषित श्री स्वामी गोविन्द आचार्यले संकल्प गर्नुभएका हरेक कार्यक्रमहरू सहजै रूपमा सम्पन्न हुँदै आएको श्रीवास दिव्यधाम निर्माण समितिका अध्यक्ष विश्वनाथ बिष्टले बताउनुभयो।
अध्यक्ष बिष्टका अनुसार स्वामी गोविन्द आचार्यले यसअघि महाकाली-मेची धार्मिक यात्रालाई आयोजना गरी आफ्नो धार्मिक संकल्प पूरा गर्नुभएको जानकारी दिनुभयो।
















