
डेंगु नियन्त्रणमा पुनर्वास सक्रिय: ‘लार्भा खोज र नष्ट गर’ अभियान तिव्र
पुनर्वास।
पुनर्वास नगरपालिकामा हालका दिनमा डेंगु संक्रमण बढ्दै गएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरिएको छ।
शनिबार पुनर्वास नगरपालिका–४ को कोटिहोम क्षेत्र आसपास लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिएको जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले जानकारी दिए।
उनका अनुसार लामखुट्टेले अन्डा पार्न सक्ने सम्भावित स्थानहरूको पहिचान गरी लार्भा नष्ट गर्ने अभियान अन्य वडाहरूमा पनि निरन्तर सञ्चालन भइरहेको छ।
केही दिनयता पुनर्वासमा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ। शनिबारको सो अभियानमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
डेंगु भाइरस एडिस एजिप्टाई (Aedes aegypti) नामक पोथी लामखुट्टेद्वारा सारिन्छ। यो लामखुट्टेले प्रायः दिउँसोको समयमा टोक्ने गर्छ र सफा पानी जम्ने ठाउँहरू जस्तै—बोतल, टिनका भाँडा, थोत्रा टायर, खाली ड्रम, गमला र पानीका ट्यांकीमा फुल पार्ने गर्छ।
यसले प्रायः सहरी क्षेत्रमा बढी फुल पार्ने भएकाले शहरमा यसको जोखिम बढी हुने जनाइएको छ। लामखुट्टेले थुप्रै दिनदेखि नचलाइएको स्वच्छ पानीमा अन्डा पार्ने गर्छ। एक व्यक्तिको रगतले नअघाएपछि अर्को व्यक्तिलाई टोक्ने क्रममा यो भाइरस फैलिन्छ।
जनस्वास्थ्य अधिकृत खड्काका अनुसार, सबै पक्षको सहकार्य र समुदायको सक्रियताले पुनर्वासमा डेंगु नियन्त्रण सम्भव छ।
उनले थपे, “यदि सबैले साथ दिए भने त्रिभुवन स्वास्थ्य चौकीमा MBBS चिकित्सक सहित २४ घण्टा आपतकालीन सेवा सुरु गर्न सकिनेछ।”
















https://shorturl.fm/LzxTu