
पुनर्वासको जेम्स एकेडेमीद्वारा स्थानीय पर्यटकीय स्थलहरूको अध्ययन अवलोकन
कञ्चनपुर– जेम्स एकेडेमी परिवारद्वारा पुनर्वास र बेलौरी नगरपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थलहरूको एक दिने शैक्षिक भ्रमण सम्पन्न गरिएको छ।
शैक्षिक भ्रमण अन्तर्गत विद्यालयका शिक्षक, विद्यार्थी तथा व्यवस्थापन समितिका सदस्यहरू सहभागिता जनाउँदै पुनर्वास र बेलौरी क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरूको अध्ययन तथा अवलोकन गरिएको हो। विद्यालयका संस्थापक खगेन्द्र ओझाका अनुसार भ्रमणको उद्देश्य विद्यार्थीहरूलाई स्थानीय पर्यटन, सांस्कृतिक सम्पदा तथा प्राकृतिक सम्पदाबारे जानकारी दिने र शिक्षालाई व्यवहारिक बनाउने रहेको थियो।
“दक्षिण बेल्टका अधिकांश पर्यटकीय क्षेत्रहरू भ्रमण गरिएको छ, जसले विद्यार्थीहरूलाई आफ्नो समुदाय र क्षेत्रको गहिरो बुझाइ दिलाउने विश्वास लिएका छौं,” ओझाले बताउनुभयो। भ्रमण टोलीले पुनर्वास नगरपालिका भित्रको प्रसिद्ध शिवलिङ्गेश्वर मन्दिर, बेलौरीको शोभा ताल, भकुण्ड कालेश्वरी मन्दिर राना थारुको सङ्ग्रहालय यस्तै विभिन्न पर्यटकीय क्षेत्रहरू नदी किनार तथा सामुदायिक वन क्षेत्रहरूको अवलोकन गरेको थियो। स्थानीय पर्यटनको प्रवर्द्धन, विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास तथा शिक्षाको गुणस्तर वृद्धिमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने विद्यालय प्रशासनको विश्वास छ।















