Above Article Ad
  • जीवन गुम्छ : ट्राफिक नियम नमान्दा गन्तव्यमा नपुग्दै

    Above Article Content Ad
  • कमलामाई -शनिबारको अँध्यारो हटेर शुक्रबारको उज्यालो बिहान आउन भ्याइसकेको थिएन । काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको योद्धा पिकअप बिपी राजमार्गबाट ५०० मिटर तल खस्यो । पिकअप मात्रै खसेन, सँगै बजारिए पिकअपका यात्रु ।

    यो घटना बिपी राजमार्गअन्तर्गत रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शीतलपाटीको हो । जहाँ बा.प्र.०१–०२४ च ९९१३ नम्बरको पिकअप दुर्घटनामा एक जनाको घटनास्थलमा नै ज्यान गयो, अर्का एक गम्भीर घाइते दुर्घटनामा मृत्यु हुने व्यक्ति थिए, मकवानपुर मनहरी गाउँपालिका–४ निवासी धर्मराज रेग्मी । दुर्घटनामा परेका धर्मराजलाई सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरिदिए । उनको शव सिन्धुली अस्पतालमा शवपरीक्षण गरेर प्रहरीले आफन्तलाई बुझायो । गम्भीर घाइते गाडी चालक निरजलाई थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ ।

    Article inline ad #1
  • दुई महिनाअघि मदन भण्डारी राजमार्ग छेउमा दुधौलीका मन्देश सदा आफ्नै बालसुलभ दुनियाँमा थिए। उदयपुर कटारीबाट डकाहा जाँदै गरेको कारले उहाँलाई सडक पार गर्दै गर्दा ठक्कर दिँदा गम्भीर घाइते भए । उहाँलाई स्थानीय स्वास्थ्य संस्था दुधौली नगर अस्पताल सिथौँली पुर्‍याइयो । अस्पताल पुग्दासम्म उनको ज्यान गइसकेको थियो ट्राफिक नियमको बेबास्ता अनि सुरक्षा पूर्वाधारको अभावले बालकको जीवन बाटोमै समाप्त भयो । सडक पार गर्दा सतर्कता नअपनाउने १० वर्षीय बालकको परिवार शोकमा डुब्यो ।

    Article inline ad #2

    ‘चालकले ट्राफिक नियमको उल्लङ्घन नगरिदिएको भए, सडकमा सुरक्षा व्यवस्था कडा भएको भए मेरो छोरो आज हामीसँगै हुने थियो,’ मृतक मन्देशका बुबा गङ्गाराम सदाले भने, ‘त्यो दुर्घटनाले जीवनभरलाई पीडा दिएको छ ।’ सडक दुर्घटनामा परेर छोरोको मृत्यु भएदेखि सडकमा हिँड्न आफूलाई डर लाग्ने गरेको उनले सुनाए । उनले भने ‘अब अरूका बालबालिकाले सडक दुर्घटनामा परेर ज्यान गुमाउन नपरोस् । यसका लागि नागरिकस्तरमा जनचेतना जगाइयोस्, सुरक्षा व्यवस्था कडा बनाइयोस्।’

    सडक दुर्घटनामा ज्यान भएका धर्मराज र मन्देश त प्रतिनिधि पात्र मात्रै हुन् । विसं २०८१ साउनदेखि हालसम्म सिन्धुलीमा ३० जना बढीले सवारी दुर्घटना ज्यान गुमाएका छन्, गन्तव्यमा नपुगी गुमेका छन्। ५२२ जना बढी घाइते भएका छन्, जसमध्ये केही घाइते जीवनभर अपाङ्गता जीवन बाँच्न बाध्य छन् ।तीन प्रमुख राष्ट्रिय मार्गको सङ्गम हो, सिन्धुली । बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्ग यही जिल्ला हुँदै अन्यत्र फैलिएका छन् । पछिल्लो एक वर्षको अवधिमा सिन्धुलीमा २०० बढी दुर्घटना भएका छन् ।

    यसमध्ये सबैभन्दा धेरै बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ । घुमाउरो मोड, तीव्र गति, ट्राफिक नियमको बेवास्ता र जनचेतनाको कमीले यहाँको सडक सयौँ जीवनको जोखिम बनिरहेको छ । गत वर्ष बिपी राजमार्गमा मात्रै ८२ ओटा सवारी दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन्भने २२३ जना घाइते भएका छन् ।

    यस्तै, मदन भण्डारी राजमार्गमा भएका ७८ वटा दुर्घटनामा १४ जनाको ज्यान गएको छभने २०८ जना घाइते भएका छन् । यस्तै, मध्यपहाडी राजमार्गमा भएको सातवटा दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए ।यसैगरी, भित्री सडकहरूमा ३८ वटा दुर्घटना भएको प्रहरीको तथ्याङ्कले बताउँछ । यसमा चार जनाले ज्यान गुमाएका र ७४ जना घाइते भएका छन् । ‘राजमार्गको अवस्था राम्रो छ,’ दुधौली ट्राफिक प्रहरी पोष्टका हबल्दार हरेराम खतिवडाले भने, ‘तर, गति तीव्र हुँदा दुर्घटना हुने गरेको पाइन्छ।’

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुलीमा प्रमुख प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमका अनुसार सवारी दुर्घटनाको प्रमुख कारण चालकको असावधानी हो । ‘हामीले सम्भव भएसम्म जाँच, अनुगमन, सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छौँ। तर, ट्राफिकको जनशक्ति सीमित छ, सडक नेटवर्क लामो भएकाले सबै क्षेत्र हेर्न गाह्रो छ,’ उनले भने । चालकको लापरबाही, आवश्यक प्रविधिको अभाव र स्थानीय चेतनाको कमीले दैनिक दुर्घटना हुने गरेको उनको भनाइ छ ।उनी भन्छन्, ‘कतिपय मोटरसाइकल चालकहरु हेल्मेट लगाउँदैनन्, सिट बेल्ट बाँध्दैनन्, मोबाइल चलाउँदै सवारी चलाउने र आफूले चलाउने सवारी अवस्था चेकजाँच नगरी चलाउँदा समस्या हुने गरेको छ।’

    सबै चालक सचेत छैनन् भन्ने पनि होइन । सडकमा वर्षौं बिताएका केही अनुभवी चालकहरू सवारी नियमको कडाइका साथ पालना गर्नुपर्ने कुरामा जोड दिन्छन् । ‘ट्राफिक नियम तोडेर चाँडो गन्तव्य पुग्न खोज्यौँ भने त्यो यात्रु मात्र होइन, हामी सबैको जीवन जोखिममा पर्छ,’ बिपी राजमार्गको सिन्धुली–काठमाडौँ सडकखण्डमा माइक्रोबस चलाउने रामबहादुर श्रेष्ठले भने ।उनले थपे, ‘ट्राफिक नियमको बेवास्त गर्दा, गाडी चलाउँदै फोन चलाउने, बेल्ट नलगाउने, लेन हेरफेर गर्दा सिग्नल नदिनेजस्ता साना गल्तीहरूले ठूलो दुर्घटना हुन सक्छ।’ सवारी चलाउँदा गतिको प्रतिस्पर्धा कहिल्यै गर्नु नहुने उनले बताए ।

    उनका अनुसार ट्राफिक नियम सवारीका चालकका लागि मात्रै होइन, यात्रु र स्थानीय बासिन्दा लागि पनि हो भन्ने चेतनाको अभाव छ । जिल्लाका अधिकांश सडकहरु साँघुरा छन् । त्यसमा स्थानीयवासीले कतै सडकमै पराल फिजाएर सुकाउँछन्, कतै बिस्कुन सडकको बीचमा थुपारिएको भेटिन्छ ।पदैलयात्री ‘जेब्राग्रसिङ’को ख्यालै नगरी जहाँ पायो त्यहीँबाट सिधै सडक पार गर्छन् । यसले सडक दुर्घटनाको जोखिम झनै बढाएको छ । सडक दुर्घटना कम गर्न हरेक नागरिक समेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

    सडक संरचना सुधारसँगसँगै मानव चेतना र व्यवहारमा परिर्वतन नभए जति फराकिलो सडक बने पनि सडक सुरक्षा नहुने स्थानीय अगुवाहरु बताउँछन् । क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुलीकी सचिव सुनिता दर्नालले सडक सुरक्षालाई लिएर पत्रकारिता क्षेत्रमा पनि अभियान चलाउनु आवश्यकता रहेको बताए । उनले भने, ‘सडक दुर्घटना घटाउन ट्राफिक नियमको व्यापक प्रचार–प्रसार गर्न जरुरी छ । सञ्चारमाध्यमबाट जनचेतना फैलाउनु हाम्रो पनि कर्तव्य हो।’ट्राफिक नियम स्वयं व्यक्तिको सुरक्षाका लागि हो। सडक दुर्घटना कम गर्न यसको सबैले पूर्ण पालना गर्नु आवश्क छ । यसका लागि कानुनी कार्यान्वयनसँगसँगै सामाजिक चेतना फैलाउन पनि आवश्यता रहेको देखिन्छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by