
मदिराले लठ्ठ तिमिल्सिना कैलाली भन्सार प्रमुख धनगढी नगर प्रहरीबाट कुटिय
धनगढी । कैलाली भन्सार कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेका छन् । प्रमुख भन्सार अधिकृत समेत रहेका तिमिल्सिनामाथि शनिबार राति भन्सार कार्यालयभित्रै नगर प्रहरीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका प्रहरीले कुटपिट गरेका हुन् ।
राति करिब १० बजेतिर भन्सार कार्यालयभित्र प्रवेश गरेका उनीहरूले प्रमुख तिमिल्सिनालाई धकेल्दै कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिन्छ । नगर प्रहरीले प्रमुख भन्सार अधिकृतमाथि केरकार गर्दै कुटपिट गरेका छन् ।फुटेजमा देखिएअनुसार एक जना मात्र नगर प्रहरी पोशाकमा रहेका छन् भने अन्य सादा पोशाकमा छन् । प्रमुख भन्सार अधिकृतमाथि कुटपिट गर्ने धनगढी नगर प्रहरीका प्रमुख समेत रहेका नगर प्रहरी निरीक्षक धामी भएको बताइएको छ ।
तर, नगर प्रहरी निरीक्षक धामीले भने तिमिल्सिनामाथि कुटपिट नगरेको दाबी गरेका छन् । तिमिल्सिना मदिराले लठ्ठ अवस्थामा रहेको दाबी गर्दै धामीले उल्टै आफूहरूमाथि दुर्व्यवहार गरेको बताए ।‘हामीले उहाँलाई कुटपिट गरेका छैनौँ । बीच सडकमा हाम्रो भ्यानमा हानेर तपाईंहरूलाई थुनिदिन्छौँ भनेर ममाथि हातपात गरेर धकेलेपछि मैले उता धकेलेको थिएँ । त्यो बेला मेरो मोबाइल भुइँमा खस्यो,’ धामीले भने, ‘अत्यधिक मापसे गरेको अवस्थामा म भन्सारको चिफ हुँ भन्दै सडकमा तमासा देखाइरहनुभएको थियो ।’
धामीले उनी भन्सार प्रमुख भएको कुरा थाहा नभएका कारण भन्सार कार्यालयभित्र अनधिकृत व्यक्ति प्रवेश गरेको पो हो कि भनेर आफूहरू त्यहाँभित्र गएको तर हातपात र कुटपिट नगरेको दाबी दोहोर्याएका छन् ।‘उहाँले म भन्सार चिफ हुँ भनेर तमासा देखाइरहनुभएको थियो । त्यहाँ भएका कसैले पनि उहाँ चिफ हो भनेर भन्नुभएन । उहाँ भन्सार कार्यालयभित्र प्रवेश गरेपछि हामी पनि गएका थियौँ,’ धामीले भने, ‘तर पछि प्रहरीले हाकिमसाब हो भनेर यकिन गरेपछि हामी फर्किएका हौं । हातपात र कुटपिट गरेका छैनौँ ।’
तर, फुटेजमा भने कुटपिट गरेको स्पष्ट देखिन्छ । तीव्र गतिको जिपले ६ लेन सडकको ट्री गार्डेनमा लगाइएका जाली भत्काएपछि खोजीमा नगर प्रहरीको टोली राति कैलाली भन्सारको बेरियलसम्म पुगेको थियो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले भन्सार प्रमुख र नगर प्रहरीबीच वादविवाद भएको खबरपछि राति प्रहरीको टोली पठाइएको बताए । तर प्रहरीको टोली त्यहाँ पुग्दासम्म स्थिति समान्य भइसकेको बताउँदै घटनाबारे थप कुरा बुझ्ने काम भइरहेको बताए ।
भन्सार प्रमुख तिमिल्सिनाले घटनाबारे प्रतिवेदन बनाएर विभागमा पठाउने तयारी गरेका छन् । भन्सार कार्यालयका सूचना अधिकारी खेम अर्यालले प्रमुखमाथि भएको कुटपिटसम्बन्धी घटनाको प्रतिवेदन बनाएर विभागलाई पठाउने तयारी भइरहेको जानकारी दिए ।प्रतिवेदनमा घटना विवरणसहित कार्यालयभित्रै प्रवेश गरेर कुटपिटमा संलग्न नगर प्रहरीलाई कारबाहीको माग गरिने भन्सार कार्यालयले जनाएको छ ।















