
सगरमाथा संवादका पाहुनाले माउन्टेन फ्लाइटबाटै गरे हिमाल अवलोकन
काठमाडौं – नेपाली विज्ञहरूको टोलीले माउन्टेन फ्लाइटमार्फत सगरमाथा सहितका हिमालको अवलोकन गरेका छन् ।
आइतबार बिहान २४ जना विदेशी सहितको टोलीले माउन्टेन फ्लाइटमार्फत सगरमाथासहित ल्होत्से, चोयु, शिसापाङ्मा, अमादब्लम, गौरीशंकर, मकालु, लाङटाङ लगायत हिमालहरूको अवलोकन गरेका हुन् ।वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको नेतृत्वमा भएको उक्त माउन्टेन फ्लाइटको उद्देश्य नेपालमा जलावायु परिवर्तनले देखिएको असरबारे विदेशी पाहुनालाई प्रत्यक्ष अवलोकन गराउनु रहेको बताइएको छ ।सगरमाथा संवादका लागि आएका पाहुनालाई माउन्टेन फ्लाइटमार्फत हिमालहरूको अवलोकन गराइएको हो ।
साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलोपटक आयोजित अन्तर्राष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।
वनमन्त्री शाहीले नेपालका हिमालहरूमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको प्रतिक्रिया दिए ।‘पहिले जता हेर्यो त्यतै सेता हिमाल देखिन्थे। तर अहिले काला पहाडहरू देखिन थालेका छन् । पहिले सेतै देखिने हिमालहरू अहिले काला पहाड बनेका छन्,’ उनले भनेछन् ।















