
घरेलु हिंसामा अत्तरियाकी जानदेवीको गयो ज्यान
धनगढी: बर्दियाको बाँसगढी नगरपालिका–३ सल्यान टोलकी जानदेवी बुढाले डेड वर्ष पहिला अत्तरियाका कृष्णबहादुर रावलसँग विवाह गरिन।
बिहिवार राति भाइ सुरजित बुढालाई उनले ‘सबै जना लागेर कुट्न लागेका छन्। गाली गर्छन। पागल भन्छन,’ भनेर म्यासेज पठाएकी थिइन्। राति भाइलाई म्यासेज गरेकी जानदेवी दोस्रो दिन घरमा मृत फेला परेकी हुन्। प्रहरीले शुक्रवार बिहान कोठा भित्र काठको सिडिमा झुन्डिएको अवस्थामा शव फेला पारेको हो। उनका भाइ सुरजितले दिदीलाई घर परिवारले मर्न बाध्य पारेको बताएका छन्। उनले दिदीको शव सिडीमा झुन्डिएको भए पनि घुँडा भुईँमा टेकिएको र चोटपटक लागेको अवस्थामा फेला परेको बताएका छन्।
प्रहरीले शनिवार बिहान मात्र उनको शव उठाएको छ। शुक्रवार बिहानदेखि शवको प्रहरीले सुरक्षा दिइको थियो। शनिवार बिहान माइती पक्ष आएपछि मात्र उनको शव उठेको हो। सुरजितले राति दिदीले मेसिज गरेको भए पनि बिहान मात्रै थाहा पाएका थिए। उनले घरेलु हिंसामा परेकी दिदीले सबै ठाउँ भतारिदा पनि न्याय नपाएको बताएका छन। उनका काका नरबहादुर भण्डारीले पनि बिहिवार राति गालीगलौज कुटपिट गरिरहेको भनेर फोन मार्फत जानदेवीले भनेको बताए। उनले सधैँ यस्तै परिरहने भएकाले आफ्नो कोठामा सुरक्षित बस भनेको बताए। उनले भने, ‘कोठामा जान भने, भोलि सम्झाउछु भनेको थिए। दोस्रो दिन फोन बन्द थियो। जानदेवीको फोन नलागेपछि सासूलाई फोन गरे। “कोठाभित्र छ, ढोका खोलेको छैन” भनेपछि शङ्का लागेर फोनबाटै प्रहरीलाई खबर गरेको हो।’ सुर्खेतमा रहेका उनले १०० नम्बरमा फोन गरेका थिए। जिल्ला प्रहरी कार्यालय, सुर्खेतले कैलालीको नम्बर दिएपछि उनले कैलाली प्रहरीलाई खबर गरेका हुन। उनले खबर गरेपछि प्रहरी घरमा गएको थियो। घरमा गएको प्रहरीले जानदेवीलाई मृत फेला पारेको हो।