
अबको १७ महिना सरकार तोप नै हाने पनि ढल्दैन : प्रधानमन्त्री
काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार केही गरेर पनि नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
‘कसले कतै गएर मिलिदेला भन्ने कुनै आशंका छैन । बलिया पार्टीहरू मिलेर बलियो सरकार बनाएको छ र स्थिरताकाा साथ डगमगाएको विश्वास पनि जगाएर लाग्नु छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
उनले आफूलाई हराउनेगरी कुनै पनि बल प्रयोग नगर्न पनि विपक्षीलाई आग्रह गरे ।
उनले औषधि हालेर फलफूल पकाउने गरेको उदाहरण सुनाउँदै आफूलाई त्यसबाट कुनै असर नहुने जिकिर गरे ।
‘अर्को के भने, यो बोटैमा पकाउन दबाइ हाल्छन् कि हाल्दैन । तर, टिपेपछि चाहिँ केरा लगायतका फलफूलमा औषधि हाल्छन् क्या छिटो पकाउन । म छिटो पाक्ने खालको केराजस्तो फलफूल होइन । बोटैमा हाल कि निकालेर हाल त्यसबाट केही असर पर्दैन,’ प्रधानमन्त्री ओलीले भने ।
साथै, उनले १७ महिनासम्म तोप नै हाने पनि आफू नेतृत्वको सरकार नढल्ने बताए ।
‘१७ महिनालाई तोप हानेपनि सरकार ढल्दैन । केही गरेपनि सरकार ढल्दैन । अथवा प्रधानमन्त्री ढल्दैन । सरकार त दुई तिहाई छ के ढल्नु नि ? १७ महिनापछि आफैं राजीनामा दिन्छु शेरबहादुरजीलाई दिन्छु,’ प्रधानमन्त्री ओलीले भने ।