पुनर्वास र बेलौरीका १५० जनालाई उद्यमी परियोजना मार्फत उद्यमी बनाइँदै
कञ्चनपुरको पुनर्वास र बेलौरीमा लुथ्रन वल्ड रिलिफ र निड्स नेपालको साझेदारीमा सञ्चालित उद्यमी परियोजनाको पालिका स्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको अध्यक्षतामा शुक्रबार पुनर्वास र बेलौरीमा उक्त बैठक तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले संस्थाहरुले दिएको तालीमहरु प्रभाबकारी भए नभएको हेर्न आवश्यक रहेको बताउनुभयो । तालीम लिने तर तालीम लिइ सकेपछी हराउने भएकाले उद्यमी छनोट गर्दा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । यस्तै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले विगतमा नगरपालिकाले थुप्रै सीपमूलक तालिम प्रदान गरे पनि व्यावहारिक जीवनमा त्यसको प्रयोग निक्कै कम भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
यस्तै निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले विगतमा निड्स नेपालका थुप्रै परियोजनाबाट स्वरोजगार मूलक कार्यहरू भएको बताउदै उद्यमी परियोजना मार्फत थप रोजगारी सिर्जना हुने अपेक्षा गर्नुभयो । परियोजना संयोजक रूपक नाथले परियोजनाका विषयमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा पुनर्वास र बेलौरीका जनप्रतिनिधि, कर्मचारी, पालिका अन्तर्गतका कृषि शाखा, उद्यम विकास शाखा र रोजगार शाखाका कर्मचारीहरु, सहकारी संस्थाका सदस्य, पत्रकार लगायतको उपस्थिीती रहेको थियो । उक्त परियोजना कञ्चनपुरका पुनर्वास र बेलौरीमा सञ्चालन भइरहेको छ । पुनर्वासका ७५ जना र बेलौरीका ७५ जना गरी जम्मा १ सय ५० जनालाई उद्यमी बनाउने उद्देश्यले परियोजना सुरुवात गरिएको हो ।