
कञ्चनपुरमा फागुन १३ देखि दादुरा रुबेला विरुद्ध खोप अभियान
एक लाख ३८ हजार बालबालिकालाई खोप लगाइने
महेन्द्रनगर । कञ्चनपुरमा फागुन दोस्रो सातादेखि दादुरा रुबेला विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ ।
सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय कञ्चनपुरले फागुन १३ देखि २१ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालनको तयारी अघि बढाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले दादुरा रुबेदला खोप विरुद्धको अभियान कार्यक्रम निर्देशिका अनुसार तयारी थालिएको जानकारी दिए ।
‘राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत २४ जिल्लामा ९ महिानादेखि १५ वर्ष मुनिका बालबालिका र त्यस बाहेक ५१ जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाललाई लक्षित गरी दादुरा रुबेला विरुद्ध खोप अभियान सञ्चाालन हुँदैछ’ मंगलबार स्वास्थ्य कार्यालयमा पत्रकारहरुका लागि गरिएको अभिमुखीकरण कार्यक्रममा उनले भने,‘कञ्चनपुर सहित उपत्यकाका तीन जिल्ला खोप सञ्चालन हुने २४ जिल्लाभित्र छन्, त्यस अनुसार कार्यक्रम निर्देशिका अनुसार निर्दिष्ट गरिएका कार्यक्रम गरी तयारी गरि रहेका छौ ।’
कञ्चनपुरमा खोप अभियान सञ्चालनका लागि खोप समन्वय समिति, स्थानीय तहका स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी लगायत सरोकारवालासित कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय प्रमुख जोशीले बताए ।
स्वास्थ्य कर्याालयका अनुसार कञ्चनपुरमा नियमति खोप लगाउन छुटेका सहित एक लाख ३८ हजार १ सय १२ बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइने छ । भारतसितको खुला नाका कारण मौसमी बसाई सराई हुने परिवारका बालबालिका नियमति खोपमा छुटेको स्वास्थ्य कार्यालयका कर्मचारीहरु बताउँछन् ।
सरकारले सन् २०२६ सम्म दादुरा रुबेला रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०१३ मा पहिलो पटक दादुरासंगै रुबेला विरुद्धको खोप लगाइएको थियो । दादुरा र रुबेला दुबै भाइरसबाट बालबालिकामा सर्ने सरुवा रोग हुन् ।
स्वास्थ्य कार्यालयका मलेरिया कन्ट्रोल भेक्टर अधिकृत सिद्धराज भट्टले दादुरा रुबेला दुबै रोगको उपचार नभएको तोकिएको मितिमा खोप लगाउनु पर्ने बताए । ‘दादुरा भाइसरबाट सर्ने रोग हो, यसले बालबालिकाको श्वासप्रश्वास प्रणालीमा समस्या गर्छ, रुबेला पनि भाइसरबाट सर्ने रोग हो, यो पनि दादुरा जतिकै खतरनाका रोग हो’ उनले भने,‘यी दुबैको उपचार छैन, त्यसैले तोकिएको मितिमा खोप लगाउन आवश्यक छ ।’
कञ्चनपुरका सबै ९ ओटै स्थानीय तहका ९२ वडामा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालयको तयारी छ । ती वडाका एक सय ५३ खोप केन्द्रबाट लक्षित बालबालिकालाई अभियान अवधिभरि खोप लगाइनेछ ।
ती सबै खोप केन्द्रमा स्वास्थ्यकर्मी सहित तीन जना जनशक्ति परिचालन हुने छ । स्वास्थ्य कार्यालयले कम्तिमा २ सय ५० बालबालिकालाई खोप लगाउने खोप केन्द्रमा तयारी थालेको हो । खोप केन्द्र विद्यालय र स्वास्थ्य संस्था नजिक पायक पर्ने गरी राखिएको स्वास्थ्य कार्यालयका जनक बहादुर कुँबरले बताए ।
दादुरा रुबेला निवारणका लागि ९५ प्रतिशत बालबालिकालाई खोप लगाएको हुनु पर्नेछ । कोरोना महामारी सहित अन्य कारणले यस अघि गरिएको सर्भेक्षणमा खोपको कभरेज ८० प्रतिशत देखिएको थियो
। त्यति बेला कञ्चनपुर सहित २४ जिल्लामा महामारी देखिएको थियो । कञ्चनपुरको कृष्णपुरका ३८ बालबालिकालाई दादुरा रुबेला देखिएको थियो ।
कार्यालयका अनुसार भारतको चेन्नईबाट आएका परिवारका बालबालिकामा दादुरा रुबेला देखिएको थियो । बाँकेबाट संक्रमण फैलिएर कञ्चनपुरसम्म पुगेको स्वास्थय कार्यालयको भनाई छ ।
स्वास्थ्य कार्यालयका पोषण तथा खोप फोकल पर्सन कपिल जोशीले खुला सीमा नाका कारण मौसमी बसाई सराई हुने परिवारका बालबालिकालाई खोप लगाउन चुनौतीपूर्ण भएको बताए । उनले गाउँ र सहर दुबै क्षेत्रबाट बालबालिका खोप लगाउनबाट छट््न सक्ने बताए ।
‘गाउँ मात्रै सहरमा पनि सिजनन बसाइसराई हुने भएकाले बच्चाहरु छुट्न सक्छन्, खुला बोर्डरले भारतबाट आउने व्यक्तिलाई खोप लगाउन निकै चुनौतीपूर्ण छ’ उनले भने,‘ओहोरदोहोर गर्छन्,यसले बच्चा चिन्न समस्या हुन्छ, गाउँघर तिर बरु स्वास्थ्यकर्मीले चिनेका हुन्छन्, त्यसैले लगाउन सजिलो हुन्छ ।’
खोप अभियानका लागि ५० लाख खर्च हुनेछ । पत्रकारहरुसित अभिमुखीकरण कार्यक्रममा कार्यालयले खोप अभियान, यसको तयारी लगायतका विषयमा जानकारी गराएको छ ।
“टोल टोलमा निमन्त्रणा पत्र”
स्वास्थ्य कार्यालयले खोप अभियानमा सबै बालबालिकालाई समावेश गराउन निमन्त्रणमा पठाउने भएको छ । कार्यालयले सबै वडामा वितरणका लागि निमन्त्रणा कार्ड स्थानीय तहमा पठाइ सकेको छ । स्थानीय तहले विद्यालय मार्फत अभिावकहरुमा घरसम्म निमन्त्रणा पत्र पठाउने भएको छ ।
खोप अभियानमा सबै बालबालिकालाई समावेश गराउन सबैलाई जानकारीका लागि निमन्त्रणा पत्र सहित प्रचारप्रसारका कार्यक्रम गरिने स्वास्थ्य कार्यालयका प्रमुख जोशीले बताए ।
‘यो अभियानमा बढी बढी भन्दा बढी सहभागिता गराएर अभियानलाई सफल बनाउने चाहना हो’ उनले भने,‘त्यसका लागि वडा र टोलसम्म निमन्त्रणमा पत्र पठाएका छौ ।’
सबै वासिन्दासम्म जानकारी पुगाउन निमन्त्रण पत्र बाहेक पर्चा, पम्पलेट वितरण र विभिन्न सञ्चार माध्यमबाट सन्देश प्रसारण लगायतका कार्यक्रम राखिएका छन् । यस अभियानलाई सार्थक र सफल बनाउन पत्रकार महासंघ कटिबद्ध भएर पेशागत धर्म निभाउन लागिपर्ने नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश का महासचिब रामसिंह ठगुन्नाले बताए।
“महाकालीका मेसु भट्टको संयोजकत्वमा एई एफ आइ समिति”
खोप अभियानका क्रममा हुने विभिन्न समस्या समाधानका लागि महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टको नेतृत्वमा तीन सदस्य एई एफ आइ समिति गठन गरिएको छ । समितिमा अस्पतालका बाल रोग विशेषज्ञ सहित छन् ।
खोप अभियानका क्रममा अवाञ्छित समस्या समाधानका लागि समिति बनाइएको छ । स्वास्थ्य कार्यालयले त्यसका लागि आवश्यक किट सहितका समान स्थानीय तहमा पठाइ सकेको छ ।