
भारतको ७५ औं गणतन्त्र दिवसमा भारतीय भुतपुर्व सैनिक संघद्वारा पुनर्वासमा भेटघाट तथा शुभकामना आदानप्रदान
पुनर्वास– भारतको २६ जनवरीका दिन मनाईने गणतन्त्र दिवसको अवसरमा भारतीय भुतपुर्व सैनिक संघद्वारा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा भारतीय भुतपुर्व सैनिक संघ कंचनपुरको निर्वाचन क्षेत्र १ द्वारा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम पुनर्वास नगरपालिका–४ स्थित विराज रेष्टुरेन्टमा सम्पन्न भएको हो ।
संघका अध्यक्ष मानबहादुर तामाङको सभाध्यक्ष तथा पुनर्वस नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख अतिथी रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्ट , पुनर्वास बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक माधव जोशी, आपताल बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ईश्वरी पुन लगायत नेपाल–भारतका भुतपुर्व सैनिक र उनका परिवारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रमुख अतिथी नगर प्रमुख शर्माले यस्ता कार्यक्रमले एकअर्कामा आत्मियता बढाउने र पुराना कार्यअनुभवको स्मरण गराउने बताए । आगामी दिनमा अझै बृहत रुपमा मनाउनु हुनेछ भन्दै कार्यक्रम सफलताको शुभकामना दिए ।
त्यस्तै, ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले गोर्खा रेजिमेन्ट र ब्रिटिश सैन्यमा देखाएको महत्वपूर्ण योगदानले नेपालकै शिर उच्च राखेको कुरा व्यक्त गरे । उनले समाजका सिर्जनात्मक गतिविधि तथा अन्य कानुनी कुरामा रिटायर्ड सैनिकको भुमिका महत्वपूर्ण रहदै आएको बताए ।
कार्यक्रममा सभाध्यक्ष मान बहादुर तामाङले पुनर्वास–बेलौरी–लालझाडीमा छरिएर रहेका भुपूहरुको एकता गर्ने उद्धेश्य यस कार्यक्रमको रहेको जानकारी दिए । उनले आजका २६ जनवरी र १४ अगस्ट हाम्रा लागि निकै महत्वपूर्ण दिन भएको सुनाए ।
अतिथीहरुको बाक्लो उपस्थिती रहेको सो समारोहमा संघका सचिव भारतीय भुपु सैनिकका हवल्दार जितबहादुर तामाङले कार्यक्रमको सञ्चालन गरेका थिए ।