
बन्द रहेको बेलौरी स्थित छोटी भन्सारको उचित रेखदेख नहुदा दुर्व्यसनीको आश्रयस्थल बन्दै
बेलौरी ः बन्द रहेको कञ्चनपुरको बेलौरी स्थित छोटी भन्सार कार्यालयको उचित रेखदेख पुग्न सक्दा झाडीमा परिणत भई जीवजन्तुको बासस्थान र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको छ । कञ्चनपुर जिल्लाको पुरानो सदरमुकाम बेलौरी बजारको यो छोटी भन्सार कार्यालयको सञ्चालनको काम बन्द गरिएसँगै उचित रेखदेखको अभावमा जीवजन्तु र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको स्थानीयवासी केशवराज जोशीले बताए । सो कार्यालयले गर्ने काम झण्डै २६ किलोमिटरको दूरीमा रहेको कैलाली भन्सार कार्यालयबाट हुँदै आएको छ । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले सीमापारि भारतीय क्षेत्रमा भन्सार कार्यालय नहुँदा नेपालतर्फको भागमा भन्सार कार्यालय सञ्चालन गर्नुको अर्थ नहुने हुँदा बेलौरी स्थित छोटी भन्सार कार्यालय सञ्चालन बन्द गरिएको बताए । ‘बेलौरीको पारिको भारतीय नाकाबाट भारत सरकारले व्यापारिक गतिविधि गर्न बन्देज गरेको छ, सीमापारि भन्सार कार्यालय सञ्चालन भएको भए यता बेलौरीमा भन्सार कार्यालय सञ्चालन गर्न सकिन्थ्यो’, उनले भने ।
भन्सारको काम नहुने भएपछि बेलौरीमा रहेको कार्यालय भवन प्रयोग विहीन छ । प्रशासनिक र दूरीको दृष्टिले सो कार्यालयलाई विसं २०७५ देखि कैलाली भन्सारको मातहत ल्याइएको थियो । आफ्नै ठाउँको भन्सार कार्यालय बन्द भएपछि बेलौरी र आसपासका व्यापारीले कैलाली भन्सार कार्यालय वा गड्डाचौकी नाकाबाट मालसामानको आयात निर्यात गर्न बाध्य भइरहेका छन् । कार्यालयको रेखदेख गर्दै आएका एक कर्मचारीको अवकाश भएपछि सो कार्यालयमा हाल ताला लगाइएको छ । कार्यालय नहुँदा सो क्षेत्रमा अवैध रूपमा व्यापार हुन थालेको स्थानीयवासीको भनाइ छ । कार्यालय नजिकै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा कार्यालय सञ्चालनमा छ । यता कैलालीका सीमावर्ती क्षेत्रमा सञ्चालनमा रहेका छोटी भन्सार कार्यालय तत्कालीन समयमा सशस्त्र द्वन्द्व चर्के सँगै बन्द अवस्थामा छन् । कञ्चनपुर क्षेत्र नं १ (बेलौरी) क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित तारा लामा तामाङले बेलौरीमा छोटी भन्सार कार्यालय पुनःसञ्चालनका लागि प्रधानमन्त्री, अर्थमन्त्री, भन्सार विभागका प्रमुखसम्म कुरा पु¥याएको बताए। ‘कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीको बीचमा रहेको यति लामो सीमावर्ती क्षेत्रमा भन्सार कार्यालय सञ्चालन गर्दा दुवै देशलाई फाइदा पुग्थ्यो’, उनले भने, ‘यति लामो सीमामा भन्सार नहुँदा कतिपयले बाध्यताले मालसामानको चोरी निकासी गर्नुपरेको सुनिन्छ, व्यापारीलाई धनगढी वा महेन्द्रनगर पुगेर मालसामानको भन्सार काट्नुपर्दा ठूलो समस्या हुने गरेको छ ।’